वीरगन्ज,२७पुस:आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगन्जलाई देशकाे आर्थिक राजधानी बनाउनुपर्ने माग गरेका छन्।शनिबार वीरगन्जमा आम जनता पार्टीले आयाेजना गरेकोे खबरदारी सभालाई सम्बाेधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए।
साहले भने,`काठमाडौं देशकाे प्रशासनिक राजधानी हाे,अब देशकाे आर्थिक राजधानी वीरगन्जलाई बनाउनुपर्छ ।´
सरकारले वीरगन्जलाई आर्थिक राजधानी घाेषणा नगरे वीरगन्जका जनता अब चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिए।पूर्वमन्त्री साहले वीरगन्जकाे नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारसंग माग गरे।यदि नेताहरुले जनताकाे चाहना र आवश्यकतालाई सुनेनन् भने विगतमा राजदरबारबाट राजालाई धपाएका जनताले नेताहरुलाई पनि सत्ताकाे कुर्सीबाट फाल्ने चेतावनीसमेत दिए।
सरकारले थाेपारेकाे करले जनतामात्र नभई उद्योगी व्यपारीपनि पिडित भएको भन्दै उनले वर्तमान कर प्रणाली सच्याउनुपर्ने बताए।
आजपा अध्यक्ष साहले केन्द्र सरकारले दिने बजेटमा समेत मधेस प्रदेशसं विभेद गरिएको बताए।उनले भने,`देशलाई सबैभन्दा बढी राजश्व उठाएर मधेस प्रदेशले दिन्छ।तर केन्द्र सरकारले सबैभन्दा थाेरै बजेट मधेस प्रदेशलाई दिन्छ।´
सरकारले जनताले तिरेको करको दुरुपयोग गरिरहेको भन्दै उनले भने,`अब यो जनताले सहने छैनन् । जनताको आवाज दबाउने काम भयो भने यो आन्दोलन कडा रुपमा अघि बढ्नेछ ।´

