
मधेसखबर
वीरगन्ज ,६फागुन : झण्डै दुई दशक देखि बन्द रही जीर्ण भइसकेको वीरगन्ज स्थित कृषि औजार कारखाना राष्ट्रय आविष्कार केन्द्रले मर्मतसम्भार गरि कृषि औजारहरुको परिक्षण उत्पादन गर्न समेत शुरु गरिसकेको छ ।
सरकारले संचालनको अनुमति र जिम्मा दिएको ५ महिनाकै अवधीमा केन्द्रले कारखानाको मर्मत सम्भार गरि कृषि औजारहरुको परीक्षण उत्पादन गर्न थालेको हो ।
तर नेपाल सरकारसंग भएको सम्झौतामा उल्लेख भए अनुसार, अर्थ मन्त्रालयले अहिले सम्म एक रुपैया पनि बजेट केन्द्रलाई उपलब्ध नगराउदा कारखाना सन्चालनमा समस्या भएको केन्द्रका अध्यक्ष महावीर पुन बताउछन् ।
नेपाल सरकारले जीर्ण अवस्थामा पुगि सकेको कृषि औजार कारखाना , मर्मतसम्भार गरि एक वर्ष भित्र सन्चालन गर्ने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको थियो । गत ३१ भदौंको मन्त्रिपरिषदको निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविस्कार केन्द्र बिचको सम्झौतामा कारखाना मर्मत सम्भार गरि केन्द्रले एक वर्ष भित्र सन्चालनमा ल्याउने र १० वर्ष सम्म सन्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लख छ ।कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।
तर केन्द्रले जीर्ण कारखाना मर्मत सम्भार गरि सन्चालनको तयारी थालेको ५ महिना बित्न लाग्दा समेत अर्थ मन्त्रालयले भने केन्द्रलाई एक रुपैया पनि बजेट उपलब्ध गराएको छैन ।
बन्द कारखाना पुर्न संचालनका लागि विस्तृत सर्वे गर्दाकै बखत केन्द्रले कारखाना मर्मत गरेर सन्चालनमा ल्याउनका लागि तत्कालका लागि करिब २५ करोड रुपैया आवश्यक रहेको व्यवहोरा सरकारलाई बुझाइ सकेको थियो । तर अर्थमन्त्रालयबाट अहिले सम्म एक रुपैया पनि बजेट निकासा नभएको केन्द्रका अध्यक्ष पुन बताउछन् ।

उनि भन्छन्,‘ कारखानामा सरसफाइ ,मर्मत सम्भार लगायतका काममा चाहिने औजार, पार्टपुर्जा र सामानहरु किन्दा अहिले सम्म राष्ट्रिय आविष्कार केन्द्रको २५ लाख रुपैंया जति खर्च भैसकेको छ ,नेपाल सरकारले सहयोग गर्ने भनेको एक पैसा पनि आएको छैन । नेपाल सरकारबाट कहिले सहयोग आउला भनेर बाटो हेर्दैछौं ।
पुनका अनुसार , कारखानामा काम थाले देखि अहिले सम्म केन्द्र आफैले २५ लाख रुपैया खर्च गरिसकेको छ । पुन भन्छन्,‘ कारखानाको सर्वे गर्दा नै तत्कालका लागि २५ करोड रकम चाहिन्छ भनेर केन्द्रले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको थियो , तर आज सम्म सरकारबाट १ रुपैया पनि बजेट केन्द्रले पाएका छैन ।
सरकारले बजेट नदिएपनि कारखाना चलाएर छाड्छौं : महावीर पुन

सरकारबाट बजेट नआउदा काममा केहि अप्ठ्यारो भएपनि केन्द्रले काम भने नरोक्ने पुन बताउछन् । उनी भन्छन् ,‘ सरकारले दिदै दिएन भने पनि हामी हात बाँधेर बस्दैनौ , केन्द्र आफैंले अन्तबाट पैसा खोजेर पनि कामलाई निरन्तरता दिन्छ , कुनै पनि हालतमा हामी यो काराखाना पूर्ण रुपमा चलाएरै छाड्छौ , यो आँट हामीसंग छ ।
पुनका अनुसार , नेपाल विद्युत प्राधिकरणलाई कारखानाको नाममा ७२ लाख रुपैया विद्युतको बक्यौता शुल्क तिर्न बाँकी रहेकोले कारखानामा प्राधिकरणले विद्युत आपुर्ति काटिएको दिएको थियो । तर केन्द्रले काम थालेपछि केन्द्रकै विशेष अनुरोधमा प्राधिकरणले कारखानामा ६५ केभिएको अस्थायी विद्युत लाइन जडान गरिदिएको छ । तर यो पनि अस्थायी मात्र भएकाले भोलिका दिनमा प्राधिकरणले विद्युत आपुर्ति रोकि दिएमा त्यसले काममा थप समस्या निम्तिने पुन बताउछन् ।
पुन फेरि भन्छन् ,‘ सरकारसंग माग गरिएको रकम पाउन सकियो भने कामहरु अझ द्रूत गतिमा बढाउन सहज हुन्थ्यो , तर सरकारले दिदै दिएन भने पनि हामी काम चाहि रोक्दैन , अन्तबाट पैसा खोजेर भएपनि कामलाई निरन्तरता दिन्छौ ।
सरकारले बजेट नदिदा समस्या भइरहेको छ : इन्जिनियर कोजु

प्रज्वल कोजु, इन्जिनियर, राष्ट्रिय आविष्कार केन्द्र
कारखानामा काम थालेको ५ महिना बित्न लाग्दा समेत सरकारले बजेट नदिदा त्यसले काममा केहि हद सम्म असर परेको केन्द्रका इन्जिनियर प्रज्वल कोजु पनि बताउछन् ।
सम्झौता लगत्तै केन्द्रले कारखानाको अवस्था बारे सर्वे गरेर मर्मत सम्भारमा लाग्ने खर्च विवरण सहितको प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाए पनि अहिले सम्म मन्त्रालयबाट कुनै बजेट नआएको कोजी बताउछन् ।
उनका अनुसार , अर्थमन्त्रालयमा केन्द्रले बुुझाएको सर्वे प्रतिवेदनमा कारखनामा रहेका मेशीन र उपकरणहरुको अवस्था , त्यसको मर्मत सम्भारमा लाग्ने खर्च र थप्नु पर्ने नयाँ मेशीनहरुको विवरण उल्लेख छ ।
कोजु भन्छन्,‘ चार महिना पहिले मन्त्रालयमा प्रतिवेदन बुझाएर हामी १०÷१५ दिन सम्म काठमाडौंमै बसेर कुरयौंं तर मन्त्रालयबाट कुनै जवाफ नआएपछि कारखानामा फर्र्किएर हामीले आफनो काम थालि हाल्यौ ।
उनका अनुसार , हाल ३ जना इन्जिनियर , ४ जना सर्व ओेभरसिययर र ४ जना प्राविधीक गरि ११ जनाकोे टोली कारखानामा कार्यरत छन् ।हामी कसैले पनि तलब सुविधा लिदैनौं , स्वंयसेवीका रुपमा खटिरहेका छौं ,उनि भन्छन् ,‘ हामी सबै यहि भित्रको पुरानो कोठमा बस्छौ , जे जस्तो पाइन्छ मीठो मासिनो खाना आँफै पकाएर खान्छौ , यो सब खर्च केन्द्र आफैले गरिरहेको छ ।

सरकारबाट बजेट नपाउदा भने मेशीनहरुको मर्मसम्भार गरि सन्चालनमा ल्याउन समस्या परिरहेको कोजु बताउछन् । उनि भन्छन् ,‘ जुन मेशीन बिग्रिएका छन् तर केहि गरेर चलाउन सक्ने अवस्थाका छन् भने हामी मर्मत गरेर चलाइरहेका छौ , तर जुन मेशीन मर्मत गर्दा त्यसमा नयाँ पार्टपूर्जा फेर्नु पर्ने छ भने पैसाको कमीले किनेर ती पार्टपूर्जा ल्याउन सकेका छैनौं , त्यस्ता अवस्थाका मेशीनहरु पनि यहा थुप्रै छन् ।
सरकारबाट बजेट नपाउदा जनशक्ति पनि थप्न पनि नसकिएको गुनासो कोजुको छ । उनी भन्छन,‘ किन कि ११ जनाको टिमले मात्र पुग्दैन , जनशक्ति थप्नै पर्छ तर बजेट छैन , अर्को कुरा जसो तसो गरेर केन्द्र आफैले नै बजेटको जोहो गरेर जनशक्ति थपि हाल्यो भने पनि मेशीनहरुमा रिप्लेसमेन्ट गर्नु पर्ने पार्टपूर्जाहरु भएन भने जनशक्ति थप्नुको अर्थ पनि रहदैन ।
उनि भन्छन्,‘ कुनै कुनै यस्ता मेशीन छन् , जुन खोलियो भने एउटैमा २÷३ लाख मुल्य पर्ने नयाँ पार्टपूर्जा पनि चाहिन्छ , त्यसैले ती मेशीनहरु मर्मतका लागि अहिले खोल्यो भने पनि बजेटको कमीले मर्मत हुन सक्ने अवस्था नै छैन ।

काम थालेको ५ महिनामै कृषि औजारहरुको परिक्षण उत्पदान शुरु
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार , केन्द्रका प्राविधीकहरुको टोलीले पहिलो चरणमा कारखानाको सरसफाई र कारखानामा रहेका उपकरण र मेशीनहरुको जाँच गरेको थियो । त्यसपछि कारखानाको विस्तृत सर्वे गरि अधिकांश मेशीन र उपकरणहरुको मर्मत सम्भार पनि केन्द्रले गरिसकेको छ । अहिले कारखानामा रहेका साना र ठूला गरि ९० प्रतिशत मेशीनहरु मर्मत सम्भारको काम सकेर चल्न थालिसकेको र केहि कृषि औजारको परिक्षण उत्पादनको काम पनि शुरु गरिसकेको अध्यक्ष पुन बताउछन् ।
पुनका अनुसार , कारखानामा अहिले कृषि कर्ममा प्रयोग गरिने बेल्चा, हँसिया, कुटो , गैंती ,बन्चरो गरि ५÷६ प्रकारका औजारको परिक्षण उत्पादन भइरहेको छ । अब ट्यक्टरमा जडान गरिने फलामे फालीको पनि परिक्षण उत्पादन गर्ने तयारी भइरहेको उनि बताउछन् ।
केन्द्रका इन्जिनियर प्रज्ज्वल कोजु पनि कारखानाको मेकानिकल सेक्सनमा रहेका साना र ठूला गरि ५४ वटा मेसीन मध्ये ५० बटा मेसीन मर्मत सँभार गरि औजार उत्पादन गर्न योग्य बनाइ सकेको बताउछन् । अब ४ वटा मेशीन मात्र मर्मत सम्भार हुन नसकेको कोजु बताउछन् । उनका अनुसार , एउटा शेयरिङ मेशीन , दुइ वटा ग्रेन्डिङ मेशीन र एउटा ठूलो पावर ह्याब्मर मेशन मात्र मर्मत हुन बाँकी छ ।
उनि भन्छन् ,‘ ती ४ वटा मध्ये कुनै चाहि त्यति बेला नै नचलेर थन्किएका, कुनै चाहि नियोजित रुपमै बिगिारेर राखिएका मेशीन छन् ।

हाल कारखानामा रहेका पुराना डाई प्रयोग गरेर दुई मिलिगं , दुई लेथ मेसिन, चार वटा डाई प्रेसर, दुई वटा आयल फर्नेस, एउटा कोइला फर्नेस र दुई वटा ह्यामर मेसीन मर्मत गरेर ५÷६ प्रकारका कृषि औजारहरु परिक्षण उत्पादन गरिहेको कोजु पनि बताउछन् ।
परिक्षण उत्पादन सफल भएको भन्दै कोजु भन्छन् ,‘ अब ढलोट, काठका बिटका लागी फर्निचर, औजार कटिङ्ग, पेन्टिगं, उत्पादीत औजारलाई सारो बनाउने हिटर लगाएतका सेक्सनका कामहरु पनि शुरु गर्ने तयारीमा छौ ।
कोजुका अनुसार , कारखानामा कृषि औजार बाहेक बिद्युतका पोल, ट्यांकर, सामान ओसार्ने ट्रली लगाएतका ११ प्रकारका अन्य सामान उत्पादन गर्ने ठुला प्रकृतिका मेसीनहरु पनि छन् ।
अहिलले मर्मत गरेर चल्न सक्ने अवस्थामा पुगेका मेशीनहरुलाई पूर्ण क्षमतामा चलाउनका लागि आवश्यक कामहरु गरिरहेको कोजु बताउछन् ।
कारखानामा पहिले देखि नै कार्यरत सुरक्षा गार्डहरुका अनुसार कारखाना चलेका बेला १ सय भन्दा बढि प्रकारका कृषि औजार र कृषि यन्त्रहरु उत्पदान हुने गरेका थिए । अहिले कारखनाामा भने ५०÷६० प्रकारका औजार र यन्त्र बनाउने डाइहरु भेटिएको कोजु बताउछन् ।
उनि भन्छन्‘ कारखानामा रहेका डाइहरु ४०÷५० वर्ष पहिले चलेको प्राविधीमा आधारित छन् , तर अहिले बजारको माग फरक छ । त्यसका कारण मेशीनहरुको पूर्ण रुपमा मर्मत सम्भारको काम सकिसकेपछि हामी आफै बजारको सर्वे गरेर , के कस्ता औजार र यन्त्रको माग बजारमा छ त्यो बुझछौ , अनि त्यहि अनुसारको उत्पादन गर्छौ ।
कारखाना चल्ने खबर सुनेर किसानहरु आउन थालेका छन् – सुरक्षा गार्ड इन्चार्ज गौतम

५ दशको पुरानो इतिहास बोकेको कृषि औजार कारखाना बन्द भएको दुइ दशक पछि चल्ने तयारी भइरहेको देख्दा त्यहा कार्यरत पुराना कर्मचारीहरु खुशी छन् ।
कारखानामा झण्डै ३९ वर्ष देखि कार्यरत हालका सुरक्षा इन्चार्ज मनोहर प्रसाद गुप्ता २० वर्ष देखि बन्द रह िजीर्ण भइसकेको कारखाना फेरि चल्ने तयारी भइरहेको देख्दा खुशी लागेको बताउछन् ।
२०४० सालमा प्रशासन शाखाको सेवामा प्रवेश गरि कारखानामा जागीर शुरु गरेका गौतम हाल सुरक्षा गार्ड इन्चार्जका रुपमा कारखानामै कार्यरत छन् ।
गौतम भन्छन्,‘ यो कारखाना कृषि प्रधान देश नेपालको एउटा धरोधर नै हो , तर विविधि कारणले २० वर्ष देखि बन्द थियो , अहिले फेरि चल्ने तयारी भइरहेको छ , र मलाई पुरा भरोसा छ यो कारखाना अब पक्का चल्छ ।
कारखाना बन्द भएको लामो समय बित्दा समेत देशका विभिन्न जिल्लाबाट कृषक र व्यपारीहरु कृषि यन्त्र र औजार खरिदका लागि कारखानामा आएर फर्किने गरेको उनि बताउछन् ।
उनि भन्छन्,‘ पोहोर सालको असार–साउनमा पनि बैतडी , हुम्ला र जुम्लाबाट केहि मानिस थ्रेसर र कल्टिभेटर खोज्दै कारखानामा आएका थिए , तर बन्द भएको थाहा पाएपछि निराश भएर फर्किएका थिए।
अहिले फेरि कारखाना सन्चालनको तयारी भइरहेको खबर पाएर दिनहु विभिन्न स्थानबाट किसान र व्यपारीहरु कृषि औजार र कृषि यन्त्रका लागि कारखानामा आइरहेको पनि उनि बताउछन् ।
कारखाना चले बेलाको सुखद क्षण स्मरण गर्दै गौतम भन्छन् ,‘ कारखाना चलेका बेला किसानलाई धेरै राहत थियो, किन कि यहाँ उत्पादित कृषि यन्त्र र औजारहरु बजारको भन्दा आधा मुल्यमा किसानले पाउथे , ५० प्रतिशत अनुदान सरकारले दिन्थ्यो , किसानले बजार मुल्यको ५० प्रतिशत रकम मात्र तिरे पुग्थ्यो , त्यसमा पनि किसानले किनेर लगेका औजार वा यन्त्र बिग्रिएमा कारखानाले नै फ्रि मा मर्मत गरेर बनाइ दिन्थ्यो पनि ।

रुसको आर्थिक सहयोगमा स्थापना भइ विक्रम संवत २०२४ फागुन २८ गते देखि सन्चालनमा ल्याइएको कृषि औजार कारखाना घाटामा गएको भन्दै २०५९ चैत ४ मा बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठले खारेज गरि बन्द गर्ने निर्णय गरेको थियो ।
तर चालु आर्थिक बर्ष २०७९/०८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने सरकारको घोषणा अनुसार अर्थमन्त्रालयले कृषि औजार कारखाना मर्मत सम्भार गरि १० वर्ष सम्म सञ्चालन गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । त्यहि अनुरुप केन्द्रले कारखाना र त्यहा रहेका उपकरण र मेशीनहरु मर्मत सम्भार गरि सन्चालन गर्ने तयारी गरिरहेको हो ।

कारखाना बन्द हुनु अगाडि प्राविधीक र कर्मचारी गरि ३२५ जना कार्यरत थिए । कारखाना बन्द हुदाँका बखत २१० जना कार्यरत थिए । २०५९ मा कारखाना बन्द भएपछि १ जना बाहेक अरु सबैले सरकारबाट उपदानको सेवा सुविधा लिएर अवकाश लिएका थिए । कृषि औजार कारखाना ९ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

