Madhes Khabar
पर्यटन हेडलाइन

ब्रिटिस सेनालाई गोर्खाली सेनाले हराएको पर्सागढीमा यसपालि पनि ‘विजय उत्सव’ मनाइने

वीरगन्ज,१७पुसः ब्रिटिश सेनालाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्साको पर्सागढीमा यसपालि पनि विजय उत्सव मनाइने भएको छ ।पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति र नेपाली सेनाको श्रीजंग गण वीरगन्जको संयुक्त आयोजनामा ‘२११ औँ पर्सागढी विजय उत्सव’ यही पुस १९ गते शनिबार मनाइने भएको हो ।

पर्सागढी मन्दिर परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत विजय उत्सवको तयारीबारे आयोजक समितिले जानकारी गराएको हो ।उक्त अवसरमा पर्सागढी नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख नारायण पौडेलले कार्यक्रमसम्बन्धी विस्तृत जानकारी दिएका थिए ।

विक्रम सम्वत् १८७१ साल पुस १८ र १९ गते इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनासँग भएको लडाइँमा नेपालले विजय हासिल गरेको ऐतिहासिक स्मरणमा हरेक वर्ष पुस १९ गते यो विजय उत्सव मनाइँदै आएको छ ।

उक्त लडाइँ पर्सागढीकै स्थानीय रञ्जित चौधरीको नेतृत्वमा लडिएको थियो । विजय उत्सवका दिन पर्सागढी नगरपालिकाभित्रका एक दर्जन बढी सामुदायिक विद्यालयबाट विद्यार्थीहरू झाँकीसहित कार्यक्रममा सहभागी हुनेछन् । मधेश प्रदेशका पर्यटन मन्त्री, जिल्लाका १४ वटै पालिकाका प्रमुखहरूलाई पनि कार्यक्रममा आमन्त्रण दिइएको छ ।

कार्यक्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू संस्कृतिको नाच प्रस्तुत गरिने छ । उक्त अवसरमा ऐतिहासिक ¥याली पनि निकालिने छ । वीर पुर्खाहरूलाई सम्मान गरिनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनका लागि विभिन्न स्टलहरू समेत राखिनेछ ।

पत्रकार सम्मेलनमा पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनम चौधरी, मेयर गोकर्ण पाठक र समाजसेवी बृजमोहन चौधरीले पर्सागढीको लडाइँले देश जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनीहरूले यो लडाइँ केवल स्थानीय नभएर राष्ट्रियताका लागि लडिएको ऐतिहासिक संघर्ष भएको उल्लेख गरे । उनीहरुले पर्सागढी विजय उत्सवले इतिहास, पहिचान र राष्ट्रिय चेतनालाई जोड्ने काम गर्ने विश्वास समेत व्यक्त गरे ।

वक्ताहरुले पर्सा जिल्लाको नामाकरणनै पर्सागढीको नामबाटै भए पनि पर्सागढीको संरक्षण, प्रचार प्रसार र प्रवद्र्धनमा अन्य सरोकारवालाहरुको ध्यान जान नसकेको गुनासो गरे ।मेयर पाठकले पर्सागढीको जग्गा अतिक्रमणको चपेटामा परेकाले पालिकाले यहाँ विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए ।

उनले चालु आवमा पनि पर्सागढीको विस्तृत डीपीआर तयार गर्न मात्र पालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको तर जग्गा अभावमा डीपीआर तयार गर्न पनि नसकिएको उनले बताए । बर्षेनि पालिकाले पर्सागढीको लागि छुट्याउने बजेट उपयोग नभई खेर जाने गरेको उनले बताए ।शंकर आचार्य/कान्तिपुर

Related posts

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय

MadhesKhabar

चैती छठ पर्व आजदेखि सुरु

MadhesKhabar

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

Leave a Comment