Madhes Khabar
समाज

मिटरब्याजी पिडितहरु आन्दोलनको तयारीमा

बारा,१फागुन: मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले तेस्रो आन्दोलनको तयारी थालेको छ । किसान-मजदुरहरूले तराइका जिल्लाहरुमा संघर्ष समिति संगठन विस्तार गर्ने अभियान थालेको बताएका छन् ।

सरकारले संघर्ष समितिसँग गत असोज १ मा गरेको पाँच बुँदे सहमति कार्यान्वय नगरेकाले फेरि आन्दोलनको तयारी गरिएको संघर्ष समितिका केन्द्रीय प्रवक्ता नीर्गराज जैसीले बताए ।

तयारीको रुपमा आफूहरू मिटरब्याज प्रभावित जिल्लाहरुमा संगठन विस्तार अभियानमा जुटेको जैसीले बताए । समिति विस्तार र आन्दोलन तयारीकै क्रममा आइतबार बारामा संघर्ष समिति गठन गरिएको छ ।

यस क्रममा जिल्लाभरका ब्याज पीडितहरु सिमराजीतपुर उपमहानगरपालिकाको जीतपुरमा भेला भएर शिलादेवी दनुवारको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन गरिएको संघर्ष समितिका केन्द्रीय प्रवक्ता जैसीले बताए । नवलपरासीको सुस्ता गाउँपालिकाबाट सुरु गरिएको संगठन समिति अहिले कैलाली, सुर्खेत, बाँके, दाङ, रुपन्देही, पश्चिम नवलपरासी, चितवन, रौतहट, सर्लाही, महोत्तरी र झापामा विस्तार भइसकेको प्रवक्ता जैसीले बताए ।

‘सरकारले पाँच बुँदे सहमतिको ‘स’ पनि नगरेकाले आन्दोलनको तयारी थालिएको छ,’ प्रवक्ता जैसीले भने, ‘जबसम्म सहमतिअनुसार सरकारले कारबाही थाल्दैन तबसम्म आन्दोलन गरिरहने छौं ।’

फागुनको अन्त्यतिर आन्दोलन सुरु गरिने संघर्ष समितिको तयारी छ । विगत २८ महिनादेखि पटकपटक आन्दोलन हुँदै आए पनि सरकारले बेवास्ता गर्दा फेरि आन्दोलन गर्नु परेको समितिले जनाएको छ ।

सुस्ताबाट २८ महिनाअघि सुरु भएको आन्दोलन काठमाडौंसम्म पुगेर सहमतिको चरणमा पुगेको थियो । तर सरकारको तर्फबाट सहमति कार्यान्वयन भएको छैन । दोस्रो चरणको आन्दोलनको क्रममा सरकारको गृह मन्त्रालयको तर्फबाट तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले असोज १ मा पाँच बुँदे सहमति गरेका थिए ।

आन्दोलन चर्केपछि सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदललाई पीडितबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन भनेको थियो । सरकारले भनेअनुसार कार्यदलले मिटरब्याज पीडकलाई कानुनी दायरामा ल्याउन र मिटरब्याज अपराधलाई नियन्त्रण गर्न सरकारले सरकारवादी फौजदारी कानुन बनाउनुपर्ने र सोहीअनुसार सरकारलाई सुझावसहित प्रतिवेदन बुझाइसकेको छ ।साभार:कान्तिपुर

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

वीरगन्जमा काँग्रेसको विजय जुलुशमा एमालेको आक्रमण , ६ जना घाइते

MadhesKhabar

शहीद दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

Leave a Comment