
मधेसखबर
वीरगन्ज ,१९ चैत : वीरगन्जको अलौमा सम्पन्न महायज्ञको पूजामा छुवाछुतको विभेद गरेर दलितलाई बस्न नदिएको घटना बारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ ।
वीरगन्ज १७ अलौंमा यहि चैत ८ देखि १६ गतेसम्म चलेको महायज्ञमा गैरदलितहरुले दलितलाई महायज्ञको पूजामा बस्न दिएका थिएनन् । उक्त घटनाले देशव्यापी रुपमा चर्चा पाएपछि दलित आयोगले चासो देखाएको हो ।
आइतबार वीरगन्ज आएका आयोगका सदस्य टुन्ज बराइलीले पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि अलौका जनप्रतिनिधि , स्थानीयवासी र दलितहरुसँग भेटेर घटनाका बारेमा जानकारी लिएका छन् ।
उनले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कोमल शाह, राष्ट्रिय अनुसन्धान पर्साका अधिकृत हेमन्त कुवँर लगायतसँग भेटेर उक्त घटनका बारेमा छलफल गरेका हुन् ।
कुनै पनि सार्वजनिक समारोहमा दलितलाई बञ्चित गराउनु संविधानको उलंघन गर्नु भएको बताउँदै बराइलीले यस घटनाको सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दबाब सृजनाका लागि आफु वीरगन्ज आएको बताए ।
बराइलीसंगको भेटमा पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले छुवाछुतको विभेद भएको भनेर अलौका दलित समुदायले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र दिएको बताए । उनले भने,‘संविधानले नै विभेदजन्य गतिविधि गर्न बर्जित गरेको अवस्थामा स्थानीयले विेभद गर्न हुँदैन भनेर हामीले कानुनी आधार देखाउनुका साथै पटक पटक छलफल गरेर सहमती गराउने प्रयास ग¥यौँ । महायज्ञ हुनुभन्दा अघिल्लो दिन उहाँहरु आफै मिलेको भन्दै हामीलाई नै यज्ञमा बोलाउन निम्तो दिन आउनुभयो । हामीले केही गर्नै परेन ।’
आयोगका सदस्य वराइलीले भने आगामी दिनमा पनि जातकै आधारमा हुने विभेदजन्य घटनामा सहमती नगराई कानुनी प्रक्रियाका आधारमा कारवाही गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
बराइलीले आइतवार नै अलौमै पुगेर त्याहाँका वडाध्यक्ष सञ्जिव बहादुर क्षेत्री र स्थानीय दलित समुदायसँग पनि छलफल गरे । महायज्ञमा भएको यथार्थबारे जानकारी लिँदै बराइलीले समाजको परम्परागत संस्कारभन्दा पनि कानुनको पालना गर्न आग्रह गरे । बराइलीले वडा कार्यालयबाट हरेक आर्थिक वर्षमा दलित समुदायकै लागि भनेर निश्चित बजेट बिनियोजन गर्न पनि वडाअध्यक्ष क्षेत्रीलाई अनुरोध गरे ।
जवाफामा वडाध्यक्ष क्षेत्रीले आफ्नो वडाका हरेक गतिविधिमा दलित समुदाय प्राथमिकतामा रहेको बताए । संविधानलाई नै टेकेर आफु वडाअध्यक्षमा निर्वाचित भएको हुँदा कानुनको अवज्ञा गर्न नसक्ने वडाअध्यक्ष क्षेत्रीको भनाई छ । वडाअध्यक्ष क्षेत्रीले भने, ‘पहिला पहिला छोएको खाने समेत चलन थिएन, अहिले सबै सँगै बसेर खाने मात्रै हैन, महायज्ञमा पनि ८ दिनसम्म दलित समुदायले नै भण्डारा चलाएर सबै भक्तजनदेखि दर्शालुहरुलाई बिहान बेलुकाको खानाको समेत व्यवस्था गरे । त्यसैले एकैपटक असहज भएपनि विस्तारै सबै सुधार हुदै जान्छ ।
तर स्थानीय दलित अगुवा खुबलाल महराले बराइलीसंगको भेटमा भने , ‘ महायज्ञको जलयात्रा, कलश यात्रा देखि हवनसम्म पनि हामी सहभागी भयौँ, मात्रै बेदी (यज्ञको पूजास्थलक) मा भने बस्न पाएनौ । तर अर्काे वर्षदेखि हुने महायज्ञमा त्यसमा पनि बस्न पाउने गरी सहमती भएको छ ।’अर्काे वर्षदेखि हुने हरेक सामाजिक एंव धार्मिक कार्यहरुमा दलित समुदायको पनि समान सहभागीता हुनेमा आफु विश्वस्त रहेको बताए ।
त्यसअवसरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारिणी सदस्य एंव दलित अगुवा मानदेव हजरा, दलित अभियान्ता मेघराज पासवान लगायतको पनि उपस्थिती थियो ।

