
बारा,२३ माघ : २५औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल बाराले पत्रकार कल्याण कोष स्थापना गरेको छ । संगठनमा आवद्ध संचारकर्मीको हितका लागी प्रेस चौतारी बाराले कल्याण कोष स्थापना गरेको हो ।
सिमरा स्थित संचार हब प्रालिको सभाहलमा सोमबार आयोजित चौतारीको स्थापना दिवस कार्यक्रममा चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले कल्याण कोष स्थापनाको घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले कार्यविधि निर्माण गरी कोषलाई कार्यान्यवनमा ल्याउने पनि बताए ।
प्रेस चौतारी बारामा आवद्ध रही सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मीलाई लक्षित गरेर कोष स्थापना गरिएकोमा कार्यक्रमका सहभागीले प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले कोषको अवधारणा प्रशंसायोग्य रहेको भन्दै आफूले समेत सहयोग गर्ने बताए । उनले सामाजिक रुपान्तरण, सुशासन र विकासका निम्ति कलम चलाउन अनुरोध पनि गरे।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले व्यक्तिगत रुपमा कोषका लागि १० हजार रकम उलपब्ध गराउने घोषणा गरे । विकले कोषको स्रोत बलियो बनाउन र कार्यान्यवनलाई प्रभावकारी बनाउन उत्कृष्ट कार्यविधि बनाएर अघि बढ्न सूझाव दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्यायले कोषका लागि २१ हजार रकम उपलब्ध गराउने घोषणा गरे । उपाध्यायले प्रेस चौतारी नेपाल बाराको बलियो संगठनका रुपमा स्थापित भएको बताउदै एकताबद्ध भएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले स्थानीय सरकारले गरेका गतिविधिलाई जनतामाझ लैजाने संचार क्षेत्रलाई आफूले सधै प्राथमिकता दिने बताए । उपमेयर अधिकारीले संचार क्षेत्रको उत्थानका लागि नगरबाट हुने सहयोगमा कमी नहुने र कल्याण कोषका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेलले सुशासन र समृद्धिका लागि संचार क्षेत्रको भूमिका अहम रहेको बताए । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठले कल्याण कोषका लागि सात हजार सहयोग गर्ने घोषणा गर्दै रकम हस्तान्तरण गरे ।
कार्यक्रममा प्रेस चौतारीको सदस्य रही जीतपुरसिमरा उपमहानगरपालिका वडा नंबर १६ का वडाध्यक्षमा निर्वाचित भएका हरिदेव खरेललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल मधेस प्रदेशका उपाध्यक्ष अनिल तिवारीले कोषका लागि पाँच हजार, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरवले आफू कार्यरत शान्ति मिडिया प्रालिको तर्फबाट कोषका लागि ६ हजार उलपब्ध गराउने घोषणा गरे ।
चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका विभिन्न जिम्मेवारीमा रहेका संचारकर्मीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण उपाध्यक्ष राधेश्याम पटेलले गरेका थिए ।

बृद्धाश्रममा खाद्यान्न र फलफूल वितरण
स्थापना दिवसकै अवसरमा पारेर प्रेस चौतारी बाराले बृद्धबृद्धालाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । जीतपुरसिमरा १ पथलैयास्थित जेष्ठ नागरिक बृद्धाश्रममा पुगेर चौतारीले आश्रममा खाद्यान्न र फलफूल वितरण गरेको हो ।
चौतारीले फलफूल, जुस, चामल, दाल, तेल, आलु, बिस्कुटलगायतको खाद्यान्न सामाग्री वितरण गरेको थियो । चौतारी बाराका उपाध्यक्ष निलिसा बर्मा, जिल्ला कार्यसमिति सदस्य तुलसा घिमिरे, रञ्जना खतिवडाले बृद्धबद्धालाई फलफूल वितरण गरेका थिए ।
जिल्ला अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका केन्दीय सचिव कमलकुमार उपाध्याय, पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाइने, चौतारीका प्रदेश कमिटी सदस्य शम्भु महतो, प्रेस चौतारीको केन्द्रीय परिषद सदस्य पुष्पराज खतिवडा, फोनिजका मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, प्रेस चौतारी जिल्ला उपाध्यक्ष राधेश्याम पटेल, सचिव जिउतप्रसाद यादव, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता, प्रेस चौतारीका जिल्ला कार्यसमिति सदस्य प्रलाद तिमिल्सिना, धिरेन्द्र तिवारी, रामेश्वर पटेललगायतको उपस्थिती रहेको थियो ।

