Madhes Khabar
कृषि

बाराका उखु किसानको आन्दोलन स्थगित

वीरगन्ज,२५ मंसिर : बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि आन्दोलन रोकिएको हो ।

किसानले आइतबार पनि चिनी उद्योग अगाडि सुकेको उखु जलाउँदै केही घण्टा प्रदर्शन र चक्काजाम गर्दै आन्दोलन गरेका थिए । शनिबार पनि उनीहरुले कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि प्रदर्शन गरेका थिए ।

चिनी उद्योगले किसानलाई दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित किसानहरु आन्दोलनमा छन् ।
प्रदर्शनको क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै शनिबार दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्ध पारेका थिए । झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका थिए ।

कलैया–१६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाले बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकोले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बिउ र औषधिका लागि दिएको ऋण मिनाहासँगै सरकारले किसानलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको बताए । ।

उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरुले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारको तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरुले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनकाअनुसार बारा र पर्सामासमेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा गरि ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बिउ र औषधिमा किसानको लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकोले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन । यसभन्दा अघि ९६६९, दहीचिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रति क्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो । साभार : कान्तिपुुर

Related posts

बर्षा प्रयाप्त हुदाँ पर्सामा धान रोपाइँ उत्साहजनक

MadhesKhabar

सिम्रौनगढमा हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपुर्ती नपाएपछि किसानहरु आन्दोलित

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment