Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

मधेसमा आज गाेधन पर्व मनाइदै

मधेसखबर
वीरगन्ज ,१० कार्तिक: मधेसमा आज बिहीबार ‘गोधन’पर्व मनाइँदै छ। हरेक टाेलमा परिवारका घरमूली महिलाहरु एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने परम्परा छ।

 

सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ। प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ। यसपालि गत शनिबार साँझ नै त्रयोदशी तिथि टेकेपछि सोही दिन ‘धनतेरस’ मनाइँदा यसपालि यो पर्व छ दिनको परेको हो। पाँच दिनको यमपञ्चकमा भने चौथो दिन नै ‘गोधन’ मनाइन्थ्यो।

गोधन पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले पूजा गर्ने गरिन्छ। विघ्ननासक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृति आराधना भएको विद्वान् बताउँछन्।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ। गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस र पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथा बस्तु नै पर्व परम्परा भएको भाेजपुरी संस्कृतिविद उमाशंकर दुवेदी बताउँछन्। पछिपछि गोवद्र्धन पूजालाई नै ‘गोधन’ भनिन लागिएको उनको भनाइ छ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन (यसपालि तिथिको घटबढले पाँचौं दिन परेको) मनाइने यस पर्वमा मधेसका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन्। यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ। गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने जनविश्वास छ।

पर्वका दिन गाई, गोरुका सिङ् , खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) ख्वाउने र नयाँ दाम्ला लगाइ दिने (दाम्ला फेर्ने) परम्परा छ। पर्वको मुख्य पक्ष प्रकृति (वन, पहाड, पानीका मुहान, चरण क्षेत्र) संरक्षणको सन्देश रहेको दुवेदी बताउँछन् ।

Related posts

लोक आस्थाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु

MadhesKhabar

कोभिड भित्रिन नदिन वीरगन्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे निरिक्षण

MadhesKhabar

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

Leave a Comment