
मथेसखबर
वीरगन्ज,१२ भदौं : वीरगन्जका निजि विधालयको मनोमानी विरुद्ध आन्दोलनरत अभिभावक संघर्ष समितिले शुल्क निर्धारणको समस्या समाधान गर्न पुन वीरगन्ज महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
आइतबार संघर्ष समितिका अध्यक्ष सन्दिप साहले एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिकाले यस अघि आश्वासन दिए अनुसार निजी विद्यालयको शुल्क निर्धारण गरि समस्या समाधान नगरे पुन सडक संघर्षमा उत्रने चेतावनी पनि दिएका छन्।
निजि विधालयको मनोमानी र शुल्क वृद्धि विरुद्ध गत असार ३१ गते जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र बुझाएपछि मेयर राजेश मान सिंह र शिक्षा महाशाखाले एक महिना भित्रै समस्या समाधान गर्ने आश्वासन दिएको तर डेढ महिना बितिसक्दा पनि समस्या समाधान नभएको अध्यक्ष साहको गुनासो छ। त्यस बेला मेयर सिंहको सचिवालयले महानगरपालिकाले शुल्क निर्धारण नगरे सम्म कुनै पनि विधार्थीलाई परीक्षाबाट बन्चित नगराउन निजी विद्यालयहरुलाई निर्देशन पनि दिएको थियो।
तर अहिले वीरगन्जको जिएचपी माविले शुल्क नतिरेकै बहानामा विधार्थीलाई परीक्षाबाट बन्चित गराएको गुनासो अभिभावकबाट आएपछि त्यस बारे बुझ्न विधालयमा जादा प्रिन्सिपल, शिक्षक र सुरक्षा गार्डले गुण्डागर्दी शैलीमा अभिभावक र संघर्ष समितिका पदाधिकारीहरुसंग दुर्व्यवहार गरेको र त्यसको विरोधमा आफुहरुले विरोध जुलुस प्रदर्शन पनि गरेको अध्यक्ष साहले प्रेस विज्ञप्तिमा जनाएका छन्।
त्यस पछि जिएचपी माविका शिक्षकहरूले पत्रकार सम्मेलन गरेर अभिभावक संघर्ष समितिलाई बदनाम गर्ने प्रयास पनि गरेको उनले बताएका छन्।
अध्यक्ष साहले वीरगन्ज महानगरपालिकाका मेयर सिंह, उनको सचिवालय र शिक्षा महाशाखा आफैले निजी विद्यालयको वर्गीकरण गरि शुल्क निर्धारण र अन्य समस्या समाधान एक महिना भित्रै गर्ने भनेर गरेको प्रतिबद्धता पुरा गर्न चासो नदेखाउदा निजि विधालयको मनोमानी झन् बढ्दै गएको बताएका छन् ।
त्यसैले आफना जायज मागहरु सम्बोधनका लागि महानगरपालिकाले अब पनि चासो नदेखाए अभिभावकहरु अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले दिएका छन्।



