Madhes Khabar
हेडलाइन

६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण

मधेसखबर

वीरगन्ज,१३ साउन :नेपालकै प्रमुख आर्थिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको २६ किलोमिटर मध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण पूरा भएको छ ।

२०७३ साउनदेखि सुरु भएको दुई वर्षे निर्माण अवधि रहेको उक्त योजनामा निर्माण कम्पनीले हालसम्म एक पुल र ६ सय मिटर सडकमात्र बनाएको हो ।

योजनाका प्रमुख मनिषकुमार साहले हालसम्म जितपुरको लालका पुल र ड्राइ पोर्टदेखि आईसीपीसम्मको ६ सय मिटर सडकमात्र निर्माण कम्पनीले योजनालाई स्वामित्व हस्तान्तरण गरेको बताए ।

योजनाले सार्वजनिक गरेको तथ्यांकमा उक्त पुल र सडकबाहेक ७८ प्रतिशत भौतिक प्रगति उल्लेख गरेको छ । उल्लेखित प्रगतिमा सबै खण्डमा गरिएको काम पुन: मर्मत गरिनुपर्ने, बिग्रिएको, भत्केको देखिन्छ, जसलाई मर्मत गरेर योजनाले बुझ्न अझै २ वर्ष बढी लाग्ने देखिन्छ ।

२६ किलोमिटरको ६ लेन सडक सम्पन्न गर्न चालू आार्थिक वर्षको समेत समयावधि थप गरिएकोमा हालसम्म पथलैयादेखि सूर्य नेपालसम्म ९७.५ प्रतिशत, सूर्य नेपालदेखि आर्मी क्याम्पसम्म ८२ प्रतिशत, आर्मी क्याम्पदेखि परबानिपुरसम्म ९०.६४ प्रतिशत, परबानीपुरदेखि गण्डक नहरसम्म ७७ प्रतिशत, गण्डक नहरदेखि हरपतगन्जसम्म ९१.४ प्रतिशत र हरपतगन्जदेखि ड्राइपोर्टसम्म ७६ प्रतिशत भौतिक प्रगति भएको योजनाले जनाएको छ ।

दुई वर्षभित्र उक्त मार्ग निर्माण गर्न एएमआर/पप्पु/कन–टेक जेभी, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी, पप्पु/लुम्बनी जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी, एएमआर/कन–टेक जेभीले ६ वटा प्याकेजमा ठेक्का सम्झौता गरी काम सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ ।

२०७३ असार २९ गते सुरु गरिएको आयोजना प्रत्येक ८ महिनामा २५ प्रतिशत प्रगति दिने शर्तमा बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्मको २६ किलोमिटर ६ लेनको सडक निर्माण गर्न ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीलाई तीन अर्ब १२ करोड ४१ लाखमा ठेक्का दिइएको थियो ।साभार : कारोबार

विभिन्न बहानामा योजना र निर्माण कम्पनीले म्याद थपेर रुग्ण हुनबाट बचाएको योजना सम्पन्न गर्न यहि गतिमा २ अझै वर्षभन्दा बढी लाग्ने बताइएको छ । निर्माण कम्पनीले भने चालू आर्थिक वर्षको अन्तिमसम्म समय प्राप्त गरेको छ ।

बन्दै–भत्कँदै गरेको योजनाको सडकमा निगरानी हुन छाडेपछि पछिल्लो समय बनेका सडक भासिने, चर्किने गरेको छ । बाँकी सडकमा समेत छिटो काम सक्ने बहानामा कम लागतको बिटुमिनको प्रयोग बढेको छ । बनाइएको सडक समेत योजनालाई बुझाउने भन्दै पुन: मर्मत थालिएको र गुणस्तरहिन बनाउन थालिएको छ ।

Related posts

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

मन्त्रालयकै निर्देशनमा बालबालिकालाई फाइजर खाेप लगाइएकाे हाे : वीरगन्ज महानगर

MadhesKhabar

क्षतिग्रस्त तिलावे पुलको प्रदेश सभा सदस्य पटेलले गरे स्थलगत निरीक्षण

MadhesKhabar

Leave a Comment