
वीरगन्ज,११असार:वीरगन्ज-५ मा सार्वजनिक हितका लागि निर्माण गरिएको नारायणी स्पोट्र्स क्लबकाे भवन वर्षाैंसम्म निजी स्वार्थले कब्जामा रहँदै आएकोमा अन्ततः वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधिको पहलमा मुक्त गराउँदै स्थानीय समुदायको स्वामित्वमा पुनःस्थापित गरिएको छ।
आफूलाई पत्रकार, लेखक र स्तम्भकारका रूपमा चिनाउँदै आएका वडा नम्बर ५ कै स्थानीय तथा पत्रकार कुमारबन्धु रुपाखेतीले क्लब भवनलाई लामो समयदेखि व्यक्तिगत रुपमा नियन्त्रणमा राख्दै आएकाे वडाध्यक्ष प्रदीप चाैरसिया लगायत स्थानीयकाे आराेप थियाे।चाैरसियाका अनुसार क्लब भवन सार्वजनिक उद्देश्यका लागि निर्माण गरिएको भएपनि केहि वडा नम्बर ५ कै स्थानीय तथा पत्रकार कुमारबन्धु रुपाखेतीले प्रयोग गर्न नदिई कब्जामा राख्दै आएका थिए।
वडाध्यक्ष चौरसियाको नेतृत्वमा वडाका भद्रभलाद्मी,जनप्रतिनिधि तथा नगर प्रहरीको उपस्थितिमा क्लब भवनको ताल्चा खोल्दै यसलाई औपचारिक रूपमा वडा कार्यालयको मातहत ल्याइएको हो।
वडा कार्यालयले यसअघि धेरै पटक सार्वजनिक सूचना जारी गर्दै क्लबको चाबी फिर्ता गर्न अनुरोध गरेको थियो । तर लगातार बेवास्ता भएपछि वडास्तरीय छलफल र सर्वसम्मत निर्णयअनुसार प्रत्यक्ष हस्तक्षेप गर्दै सार्वजनिक सम्पत्तिमा नागरिकको स्वामित्व सुनिश्चित गरिएको वडा अध्यक्ष चौरसियाले जानकारी दिए ।
उनले भने, ‘कसैले पनि पत्रकार भएको नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्न सक्दैन । अरूलाई आरोप लगाउनेहरू आफैं अनैतिक क्रियाकलापमा संलग्न हुनु दुःखद हो । अब क्लब वडाबासीको हितमा, पारदर्शी रूपमा सञ्चालन हुनेछ ।’
नारायणी स्पोट्र्स क्लबको तीन तल्ले भवन पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीको संसदीय विकास कोषमार्फत ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।क्लब सञ्चालनका लागि वीरगन्जका समाजसेवी रवी विक्रम शाह (शिव राजा)ले जग्गा दान गरेका थिए ।
भवनको भुइ तल्ला २०८० सालमा र बाँकी २ तल्ला २०८१ सालमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न पछि २०८१ मंसिर १ गते पूर्व मुख्यमन्त्री गद्दीले उद्घाटन गरेका थिए । तर उद्घाटनपछिदेखि नै रुपाखेतीले भवन आफ्नो नियन्त्रणमा राखी संस्थागत उद्देश्य विपरित प्रयोग गर्दै आएकाे स्थानीयकाे आराेप थियाे।
क्लबको भावी सञ्चालन वडास्तरीय समिति र स्थानीय समुदायको प्रत्यक्ष निगरानीमा पारदर्शी ढंगले गरिने वडा कार्यालयले स्पष्ट पारेको छ । खेलकुद प्रवद्र्धन, युवा सशक्तिकरण र सामाजिक गतिविधिका लागि यो क्लबलाई केन्द्र बनाउने योजना रहेको छ।
अध्यक्ष चौरसियाले भने, ‘हामीले केवल एक भवन मात्र फिर्ता ल्याएका छैनौं, वडाबासीको हक, आवाज र गरिमालाई पुनस्र्थापित गरेका हौं ।’स्थानीय समुदायले क्लबको पुनःस्थापनालाई ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन् । क्लब अब सबैका लागि खुला हुने र सामूहिक प्रयोगमा आउने भन्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय युवा शुभम यादव भन्छन्, ‘कसैले पनि सार्वजनिक सम्पत्तिमा कब्जा जमाएर बसेको अवस्था देख्दा हामी निराश थियौं । अहिले वडा कार्यालयको दृढ निर्णयले हामीलाई गर्वको अनुभूति भएको छ ।’अर्का स्थानीय नागरिक गीता देवी भन्छिन् , ‘अब हाम्रो छोराछोरीलाई आफ्नो टोलमै खेलकुद र सिर्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर मिल्ने भयो । क्लब साँच्चिकै अब समुदायको निधि बन्नेछ ।’
यता क्लब कब्जाको आरोप लगाइएका वडा नम्बर ५ कै स्थानीय तथा पत्रकार कुमारबन्धु रुपाखेतीले भने आँफुले क्लब कब्जा गरेको भन्ने आरोप निराधार रहेको दाबी गरे । पूर्व मुख्यमन्त्री लालबाबु राउतको पालामा ८० लाख रुपैयाँको बजेटमा क्लबको भवन निर्माण गरिएको भन्दै उनले वडाध्यक्ष चौरिसियाले गत जेठ ३१ गते नगर प्रहरीको जत्था ल्याएर क्लबको ताल्चा तोडेको बताए ।
आँफुसंगपनि कुनै सल्लाह पनि नगर प्रहरीको जत्था ल्याएर ताला तोडेकोमा आफ्नो र वडाबासीको विरोध रहेको उनले बताए ।क्लबको समिति अहिले गठनको प्रकृयामै रहेका बेला हतास मानसिकतामा रहेका वडाध्यक्ष चौरसयिाले नै क्लब कब्जा गर्न खोजेको आरोप लगाए । वडाध्यक्ष चौरसिया नालायक र पंगु साबित भइसकेको आरोपनि उनले लगाए।

