
मधेसखबर
वीरगन्ज,३१ असार : मधेस प्रदेश सरकारले पोखरीहरुको सौन्दर्यकरणको नाममा गरेको व्यापक भ्रष्टाचारको तथ्य सार्वजनिक भएको छ ।
मधेस प्रदेशको चौथो वार्षिक प्रतिवेदनमा मधेस प्रदेश सरकारले पर्साकोे वीरगन्जका ३ वटा र निचुटाको एउटा गरि चार वटा पोखरीको सौन्दर्यकरणमा करोडौं खर्चे गरिसक्दा पनि सौन्दर्यकरणका कामहरु अधुरै र अलपत्र रहेको पाइएको उल्लेख छ ।
वीरगन्जको नगवा, मुरली, लक्ष्मणवा र पर्साको निचुटा पौखरीको सौन्दर्यकरणका लागि मात्रै मधेस सरकारले २३ करोड ९० लाख खरिद सम्झौता गरी निर्माण व्यवयासीलाई भने १६ करोड ८ लाख ३० हजार भुक्तानी गरिसकेको छ ।
तर, लेखापरीक्षणको क्रममा अवलोकन गर्दा पोखरीहरु पुरानै स्वरूपमा रहेका छन् । पोखरीहरुको अधिकांश भाग बाहिरबाट माटो ल्याई पुरेको, कंक्रिट संरचना निर्माण गरेकोमा ठाउँ–ठाउँमा भत्केको, गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको, डीपीआरलाई बेवास्ता गरी काम गराएको पाइएको छ ।
पोखरीहरुको डिलमा पिलर समेत नराखी भवन निर्माण गरेको, सोलार लाइट जडानको भुक्तानी भएकोमा सबै स्थानमा लाइट जडान नगरेको र दुईवटा पोखरीको काम अधुरो अवस्थामा रोकिएको स्थिति देखिएको छ। सौन्दर्यकरण कार्य गरेका सबै पोखरीको जग्गाको क्षेत्रफलसमेत यकिन हुन सकेको छैन।
यस्तै मधेस सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यान्वयन गर्न पनि अनावश्यक कर्मचारी भर्ना गरी लाखौं अनियमितता गरेको छ । कार्यक्रम बजेटबाट ११ जनालाई करारमा राखी ३८ लाख २४ हजार, बेटी पढाउ बेटी बचाउ कार्यक्रमका लागि ६ जनालाई करारमा राखी २१ लाख ६७ हजार र पुँजीगततर्फको कन्टिन्जेन्सीबाट ३२ जना सुपरभाइजर राखी ३९ लाख ३६ हजार पारिश्रमिक भुक्तानी भएको छ।

