
मधेसखबर
वीरगन्ज, ०७ असार : वीरगन्ज स्थित नापी कार्यालय पर्साका एक जना बिचौलिया, सेवग्राहीसंग १ लाख २५ हजार रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली घर भएका ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् ।निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिदै आएका पाण्डे , घुस रकम सहित मङगलबार पक्राउ परेका हुन् ।
सेवाग्राहीले दिएको गोप्य सुचनाकोे आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगन्जको आदर्शनगर स्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया घुस लिदै गरेको अवस्थामा पाण्डेलाइ रंगेहात पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झा, नयाँ नापीको लालपुर्जाका लागि विगत तीन महिना देखि नापी कार्यालयमा धाउदै आएका थिए ।नापी कार्यालयका कर्मचारीले अनेक बहानामा झाको काम गर्न आलटाल गरेपछि पाण्डेको सम्पर्कमा पुगेका झालाइ पाण्डडेलले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएका थिए । त्यसका लागि पाण्डेले झासँग घुस बापत १ लाख २५ हजार रुपैया मागेका थिए ।
पाण्डेले माग गरेको रकम बैंकबाट रकम निकालेर उनलाइ बुझाउने क्रममा पाण्डेलाइ प्रहरीले रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।पक्राउ परेका पाण्डे विरुद्ध ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए ।

पक्राउ परेका पाण्डे , नापी कार्यालयका कर्मचारीको मिलोमतोमा बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेका थिए ।मङगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झालाइ लालपुर्जा तत्काल उपलब्ध गराएको छ ।
नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले भने मङगलबार घुसको रकम सहित पक्राउ पाण्डेलाई आफुले नचिनेको बताए । उनले भने, पाण्डे पक्राउ परेको बारे जानकारी छैन , यदि कोहि बिचौलीया घुस सहित पक्राउ परेको छ भने आवश्यक अनुसन्धान गरी दोषीलाई कारवाही हुनु पर्छ ।

