
वीरगन्ज,२६पुषः पर्सामा प्रहरीले लागूऔषध गाँजाको खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आइरहेको हो ।
यसैक्रममा पर्सागढी नगरपालिका वडा नम्बर २ स्थित सिंग्याही नदिको बगर छेउमा करिब डेढ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले बताए । उक्त स्थानमा करिब आठ सय गाँजाको बोट गाँजा फाँडेर नष्ट गरिएको उनले बताए ।उनका अनुसार , प्रहरी चौकी मनवाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाँजाको बोट फाँडेर नष्ट गरेको हो ।
यसअघि बुधबारपनि प्रहरीले पर्साकै जीराभवानी गउँपालिका वडा नम्बर २ सेढवा र वडा नम्बर ३ जितपुर टोलमा लगाइएको गाँजा खेती फाडेर नष्ट पारेको थियो ।बुधबार १ हजार ८ सय वटा गाँजाको बोट गाँजा फडानी गरी नष्ट पारिएको प्रहरी निरिक्षक केशरीले बताए । जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्लाबासीसंग अपिलनै गरेका छन् ।

