Madhes Khabar
स्थानिय

वीरगन्जको मेनरोड मर्मतका लागि सडक विभागसंग अनुमति माग

मधेसखबर
वीरगन्ज,१२जेठः
वीरगन्ज महानगरपालिकाले मेनरोड (मुख्य सडक ) मर्मतका लागि सडक विभागसँग अनुमति माग गरेको छ । सडक विभागको क्षेत्रमा पर्ने त्रिभुवन राजपथ सडकखण्ड अन्र्तगत वीरगन्जको मेनरोड मर्मतका लागि यहि जेठ ९ गते पत्राचार गरेर अनुमति माग गरिएको वीरगन्ज महानगरपालिकाको कार्यालयले जनाएको छ ।
पावरहाउस चोक तथा घण्टाघरदेखि दक्षिणतर्फको क्षेत्र र रजतजयन्ती चोकदेखि मितेरीपुलसम्मको सडक जीर्ण बनेको छ । सडक लामो समयदेखि मर्मत संभार नहुँदा सार्वजनिक आवागमन कष्टकर हुनुको साथै सवारी दुर्घटनाको जोखिम बढेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले सडक विभागमा पठाएको पत्रमा लेखिएको छ– ‘विभाग र मातहतका निकायबाट मर्मत संभारका लागि भएको बोलपत्र आव्हान प्रक्रियामा नै विविध कारणले अवरोध भई कार्य अगाडि बढ्न नसकेको तथा उक्त प्रक्रिया शुरु गर्न लामो समय लाग्ने भन्ने बुझिन आएकोले उक्त क्षेत्रको मर्मत सम्भार गरी सार्वजनिक आवागमन सहज तुल्याउन यस महानगरपालिकालाई सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (१) बमोजिम विभागबाट स्वीकृति प्रदान गरिदिनुहुन अनुरोध गरिन्छ ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार वीरगन्जको मुख्य सडकको विभिन्न भाग जीर्ण बनेको तर सडक विभागले मर्मत गर्न समय लाग्ने देखिएकोले महानगरले मर्मतका लागि अनुमति मागेको हो ।
वीरगन्जको मुटु मानिने घण्टाघर क्षेत्रको सडक नै जीर्ण बनेको तर महानगरको क्षेत्रमा नपर्ने भएकोले मर्मत गर्न नसकिरहेको भन्दै पाण्डेले भने ,‘ जनस्तरबाटै मर्मतका लागि दवाव छ, वर्षायाममा सडकमा आवगमन झनै असहज हुने देख्यौं , सडकले मर्मत गर्दा लामो समय लाग्ने देखियो ,त्यसैले महानगर स्वयंले मर्मत गर्नका लागि अनुमति मागेका हौं ।’
महानगरपालिकाले अहिले भने मेनरोडमा खानेपानी संस्थानसँगको समन्वयमा खानेपानीको पाइप मर्मतसम्भार गरिरहेको छ ।खानेपानी संस्थानसँगको समन्वयमा महानगरपालिकाको जेसीबीको प्रयोग गरेर दुईदिनदेखि खानेपानीको पाइप मर्मत संभार भइरहेको हो । पहिलो दिन पाँच वटा र दोस्रो दिन ३ ठाउँमा खानेपानीको पाइप मर्मत गरिएको महानगरपालिकाका प्राविधिक भोगेन्द्र चापागाईंले जानकारी दिए ।नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहले पनि सडक मर्मतका लागि चासो लिएका छन् । उनले २४ घण्टाभित्र वीरगञ्ज नगरबासीले अनुभूति हुनेगरि काम गर्ने वचन दिएका छन् । साभारःअनलाइनखबर

Related posts

मालपोत कार्यालय वीरगन्जका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

उपमेयर आलमको स्वकीय सचिवमा हजरा र प्रेस सल्लाहकारमा मलिक नियुक्त

MadhesKhabar

वीरगन्जमा ब्राउन सुगरसहित तीनजना पक्राउ

MadhesKhabar

Leave a Comment