Madhes Khabar
Uncategorized

वीरगन्जमा रगतको अभाव,बिरामीको उपचार प्रभावित

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०७ जेठः
वीरगन्जमा रहेको रक्तसन्चार केन्द्रमा रगतको अभाव भएको छ । रगतको अभाव हुदा जटील र गम्भिर रोगका बिरामीको उपचारमा समस्या भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको रक्त सन्चार केन्द्र वीरगन्जमा शुक्रबार देखि रगतको मौज्दात करिब सकिएको छ । केन्द्रका प्रमुख सौरभराज पाण्डेका अनुसार, शुक्रबार मध्यान्हसम्म केन्द्रमा ओ पोजेटिभ र ए पोजिटिभ रगतको केही पोका रहेकोमा त्यो पनि सकिएको छ ।
पाण्डेले भने,‘‘अब केन्द्रमा एक पिन्ट पनि रगत छैन,रगत खोज्दै आउनेहरुसँग शोधभर्ना बापत रगत लिएर रगत दिनुको विकल्प रहेन ।
हालका दिनहरूमा वीरगन्जमा दैनिक ४० देखि ५० पोका रगतको माग रहेको र त्यो माग धान्न आफूहरुलाई धौधौ परेको उनले बताए । एक महिना यता स्थानीय तहको चुनावको माहोल तात्तिएसँगै पर्सा र बारा जिल्लामा रक्तदान हुने कार्यक्रम क्रम ह्वात्तै घटेपछि रगतको आपूर्ति र वितरणको तालमेल बिग्रिएको उनले बताए ।
‘एकातिर गर्मी बढेपछि स्वाभाविक रुपमा रक्तदान कार्यक्रम कम हुन्छ, त्यसमाथि स्थानीय तहको निर्वाचन नजिकिएसँगै सामाजिक संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्नै छोडेका छन्,’ पाण्डे भन्छन्, ‘समाजबाट रगत संकलन गर्ने मुख्य भूमिका सामाजिक संघसंस्था र दलका सक्रिय कार्यकर्ताहरु नै हुन्, उनीहरुनै निर्वाचनमा व्यस्त भएपछि रगतको मौज्दात घट्नु स्वाभाविक पनि हो ।’
यसअघि जेठ २ गते बाराको निजगढमा आयोजित रक्तदान कार्यक्रमबाट ४१ पोका र त्यसअघि वैशाख २४ गते वीरगन्ज कारागारमा भएको रक्तदान कार्यक्रमबाट २ सय ४६ पोका रगत संकलन भएको थियो । ‘२ सातामा २ पटक मात्र रक्तदान कार्यक्रम आयोजना हुन सक्यो, वीरगन्ज कारागारबाट संकलित रगतले धेरै भरथेग गरेको थियो,’ उनले भने, ‘उक्त रगतको मौज्दात पनि आज सक्कियो, अब हामी शोधभर्नामा रगत लिएर मात्र रगत उपलब्ध गराउन समर्थ छौं ।’
हाल अधिकांश स्थानीय तहको निर्वाचनको नतिजा आई सकेपनि रक्तदान कार्यक्रम आयोजन गर्ने तर्फ कसैको ध्यान नजादा थप केही दिन केन्द्रका लागि कष्टकर हुने उनले बताए । ‘निर्वाचनमा जितेकाहरु केही दिन खुसियाली मनाउन व्यस्त हुन्छन्, हारेकाहरु दुःख मनाउन गरेर बस्छन्,’ उनले भने, ‘यसरी सबैको प्राथमिकतामा निर्वाचन मात्र परेको छ, सामाजिक र मानवीय काम पछि प¥यो, यस्तो अवस्थामा रक्तदान एउटा महान मानविय कार्य हो, यसले कसैको ज्यान बचाउँछ भन्ने कुरो धेरैले बिर्सिदिन्छन् ।’
साभार :कान्तिपुर

Related posts

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान तीब्र : प्रगतिनगरमा युवाहरुले लगाए ‘परिवर्तन’को नारा

MadhesKhabar

मुक्तिनाथबाट फर्किदै गरेकाे बस ट्रकसंग ठाेक्किदाँ १५ तीर्थयात्री घाइते

MadhesKhabar

मुख्यमन्त्री राउतकी पत्नि उपाध्यक्षमा पराजित

MadhesKhabar

Leave a Comment