काठमाडौँ,३० वैशाखः आर्थिक सूचकांकमा पछाडि परेका प्रदेशहरू मधेस, सुदूरपश्चिम र कर्णाली एसईई नतिजामा पनि कमजोर देखिएका छन् । यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गतवर्ष मधेस सबैभन्दा कमजोर थियो । कक्षा १० (एसईई) र ११–१२ को नतिजामा कर्णाली, मधेस र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन् ।
देशभरबाट यस पटक ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट ५१ प्रतिशत मात्र उत्तीर्ण भए । मधेसबाट साढे ५८ प्रतिशत र कर्णालीबाट ५९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ । ६१ प्रतिशत मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भए । बागमती, गण्डकी र कोशी प्रदेशले भने प्रायः राष्ट्रिय औसतभन्दा राम्रो नतिजा निकाल्दै आएका छन् । यसपालि कोशीबाट साढे ७० प्रतिशत, गण्डकीबाट ७३ र बागमतीबाट ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।
सुदूरपश्चिम, मधेस र कर्णाली प्रदेश प्रतिव्यक्ति आयमा पनि पछाडि छन् । आर्थिक सर्वेक्षण ०८१÷८२ अनुसार प्रतिव्यक्ति जीडीपी अमेरिकी डलरमा बागमतीको २६०१, गण्डकीको १६२०, कोशीको १४०२, लुम्बिनीको १२०१, सुदूरपश्चिमको ११५३, कर्णालीको १०८९ र मधेशको ९३२ छ । सुदूरपश्चिम, मधेस र कर्णालीमा गरिबी राष्ट्रिय औसतभन्दा बढी छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार सुदूरपश्चिममा ३४.१६, कर्णालीमा २६.६९ र मधेशमा २२.५३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । ‘गरिबीको लघु क्षेत्र अनुमान’ प्रतिवेदन अनुसार औसत राष्ट्रिय गरिबी दर २०.२७ प्रतिशत छ ।
गतवर्ष एसईईमा देशभर ६२ प्रतिशत उत्तीर्ण हुँदा मधेसबाट २८, सुदूरपश्चिमबाट ५५, कर्णालीबाट ७० र लुम्बिनीबाट ५१ प्रतिशत उत्तीर्ण थिए ।गतवर्ष राष्ट्रिय औसतमा राम्रो देखिएको कर्णाली यसपालि खस्केको छ ।
गतवर्ष कक्षा १२ मा देशभर ६१ प्रतिशत उत्तीर्ण हुँदा कर्णालीबाट ५०, मधेसबाट साढे ५३, सुदूरपश्चिमबाट ५४ र लुम्बिनीबाट ५५ प्रतिशत उत्तीर्ण भएका थिए । कोशी, बागमती र गण्डकीबाट क्रमशः ६०, ७० र ६४ प्रतिशत उत्तीर्ण थिए । साक्षरता प्रतिशत कमजोर रहेको स्थानमा विद्यार्थीको सिकाइ उपलब्धि पनि कमजोर देखिन्छ । साक्षरता प्रतिशत मधेसमा ६८, सुदूरपश्चिममा ७३, कर्णालीमा ७६, कोशीमा ७८, लुम्बिनीमा ८०, बागमती र गण्डकीमा ८३ प्रतिशत हाराहारीमा छ । साभारः कान्तिपुर

