Madhes Khabar
राजनीति

पूर्वगृहमन्त्री लेखक लगायतमाथि अब मुद्दा नचल्ने

काठमाडौं,२७वैशाख: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि मुद्दा नचल्ने भएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको भनी विशेष अदालतमा जानकारी पठाएको अख्तियारले ‘केही पनि प्रमाण नभेटिएको’ भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।

‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जे जति मुद्दा चल्यो, त्यही नै हो । त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने, ‘मुद्दा नचल्ने निष्कर्ष सहित अनुसन्धान नै टुंगिएको छ ।’

७ जेठ, २०८२ मा अध्यागमनका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।

मिलेमतोमा कर्मचारीहरू विमानस्थल अध्यागमनमा पठाउने र त्यसक्रममा लाभ लिनेगरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव(पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका) छविराज रिजाल लगायतहरू मुछिएका थिए ।

अख्तियार २१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो । त्यतिबेला नै विशेष अदालतमा विवरण पठाएर अख्तियारले पूर्वगृहमन्त्री लेखक लगायतमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

विभिन्न मुलुकहरूमा नेपाली कामदारहरूलाई भिजिट भिसामा पठाउँदा घूस लिने संयन्त्र नै खडा गरेको आरोपमा अख्तियारले सहसचिव भट्टराई लगायतमाथि मुद्दा चलाएको थियो ।

७ जनामाथि भ्रष्टाचार चलाएको उसले तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव छविलाल रिजाल लगायतका अरु उच्चपदस्थ अधिकारीहरूमाथि अनुसन्धान चलिरहेको विवरण पठाएको थियो ।

विशेष अदालतले २०७४ सालमा फरक घटनाक्रम, व्यक्ति संलग्न भएको विषयमा छुट्टाछुट्टै आरोपपत्र ल्याउनु भन्ने निर्देशन दिएको थियो । त्यसैलाई आधार बनाएर अख्तियारले कतिपय मुद्दा टुंग्याएर विशेष अदालतमा आरोपपत्र पेश गर्ने गरेको छ ।

अख्तियारले त्यतिबेला विशेष अदालतमा पठाएको विवरण अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो भने नेपाल टेलिकमबाट उनको कल डिटेल रेकर्ड(सीडीआर) विश्लेषण भएको थियो ।

त्यसको विश्लेषण गर्दा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्बन्ध भएको देखिएको उसको दाबी थियो । अख्तियारले उनीहरूमाथि ‘गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएको’ भनेको थियो ।

अख्तियारले विशेष अदालतमा विवरण पठाएर भनेको थियो, ‘(माथि उल्लेखित) छुट्टाछुट्टै विषय, वारदात, समय तथा संलग्न प्रतिवादीहरू भएको सम्वन्धमा छुट्टै अनुसन्धान भई रहेको बेहोरा जानकारीको लागि अनुरोध छ ।’

अख्तियारसम्बद्ध स्रोतका अनुसार, अनुसन्धान गर्दै जाँदा गृहमन्त्री लेखक, गृहसचिव दुवाडी लगायतले सहसचिव तिर्थराज भट्टराईबाट कुनै लाभ पाएको(घूस लेनदेन भएको) कुनै प्रमाण नभेटिएपछि मुद्दा नचल्ने निष्कर्ष निकालिएको हो । अख्तियारसम्बद्ध स्रोतले भन्यो, ‘कुनैपनि प्रमाण भेटिएन भन्ने छ । प्रमाण नै नभएको अवस्थामा कसरी मुद्दा चलाउनु ?’ साभार: अनलाइनखबर

Related posts

कांग्रेस नेतृ मिश्रा जनमत पार्टीमा प्रवेश

MadhesKhabar

वीरगन्ज महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरु काँग्रेसबाट सम्मानित

MadhesKhabar

महिलाले अवसर पाए भने प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव

MadhesKhabar

Leave a Comment