काठमाडौं,११चैतः खानेपानी मन्त्री प्रदीप यादवले महिलाले अवसर पाउने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बोल्दै यादवले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने दाबी गरे ।
उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरू कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए ।
मन्त्री यादवले भन्नुभयो, ‘महिलाहरू कमजोर छैनन् । किन छैनन् भने हाम्रो मुलुकको सबैभन्दा महत्वपूर्ण पद, सबैभन्दा ठुलो पोस्ट, राष्ट्रपति महिलाले चलाइसकेका छन् । विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रुपमा चलाउनु भयो । निश्चित रूपमा यो देशको राष्ट्रपति जस्तो महत्वपूर्ण पद महिलाले चलाइसकेका छन्। प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाइसकेका छन् । कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेका छन् । अवसर दिनुस् न । अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछन् । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ ।’
खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघका अध्यक्षसँग उनले आग्रह गरे । मन्त्री यादवले शिक्षामा महिलाहरू धेरै अघि बढिसकेको बताए ।

