Madhes Khabar
पर्यटन हेडलाइन

भोजपुरी लोककलालाई विश्वभर चिनाउन चित्रकार बनेका वीरगन्जका मुकेश

वीरगन्ज,२६वैशाखः वीरगन्ज–१० घडिअर्वाका मुकेश महतो तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन्। भोजपुरी लोककलालाई विश्वभर चिनाउन तम्सिएका महतो वीरगन्जमै बसेर चित्र कोर्ने र मूर्तिकलाका विभिन्न कलात्मक आकृतिमा रमाउने गर्छन्।

पछिल्लो ६ वर्षयता उनले चित्रकला र मूर्तिकलाको क्षेत्रमा विशेष एकाग्रताका साथ काम गरिरहेका छन्। उनी भन्छन्, ‘मोफसलमा बसेर टिक्नै सकिन्न भन्ने भाष्य गलत हो।’ मुकेशले चित्रकारिताबाटै मनग्य आम्दानी गरिरहेका छन्। उनले अर्डरअनुसार दुई हजारदेखि ३५ हजार रुपैयाँसम्मका चित्र घरबाटै बिक्री गर्दै आएका छन्।

मुकेश वीरगन्जका दुईवटा विद्यालयमा आर्ट सिकाउँछन्। स्कुले बालबालिकामा चित्रकारितातर्फ रुचि जगाउन र कलम एवं कुचीलाई भविष्य बनाउन चाहनेहरूका लागि उनी निरन्तर खटिएका छन्। यसका साथै उनले चित्रकला कार्यशाला, गोष्ठी सञ्चालन गर्ने र स्थानीय लोककलाको विषयमा अनुसन्धान गर्ने कामलाई पनि अघि बढाएका छन्। विशेषगरी चाडपर्वहरू नजिकिएसँगै मुकेशको दैनिकी अझ व्यस्त बन्छ। उनले हालसम्म विभिन्न पाँचवटा देशमा सामूहिक कला प्रदर्शनीमा समेत सहभागिता जनाइसकेका छन्।

भोजपुरी समुदायको लोककला जगेर्ना गरेकोमा उनले नेपाल सरकारको पर्यटन मन्त्रालयबाट ‘प्रादेशिक प्रतिभा पुरस्कार’ समेत प्राप्त गरेका छन्। वीरगन्ज कलाकार समाज स्थापना गरी स्थानीय युवाहरूलाई कलाकारिता र लोकसंस्कृतिमा जोड्न उनी क्रियाशील छन्। साथै, भोजपुरी प्रतिष्ठानको कार्यसमिति सदस्यका रूपमा लोककलाको दस्ताबेजीकरणमा पनि उनी संलग्न छन्।

चित्रकारिता मुकेशले आफैं रोजेको बाटो हो। बाल्यकालदेखि नै यसैमा रमाएका उनी मोफसलमा रहेर पनि मेहनत गरे जीवन चलाउन दुःख नहुने बताउँछन्। भित्तेचित्र, पार्क सजावट र विभिन्न व्यावसायिक कलाका कामहरू उनले पाइरहन्छन्। स्थानीय र प्रदेश सरकारले पनि कलाकारलाई संरक्षण र काम दिएकोमा उनी सन्तुष्ट छन्। आगामी जेठ २ गतेदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला र भारतको उडिसामा हुने कार्यक्रममा पनि उनी सहभागी हुँदैछन्।

मुकेशको कलामा सामाजिक चेतनाको गहिरो प्रभाव देखिन्छ। दुःखी, गरिब र असहायको बिचल्ली देख्दा उनलाई छटपटी हुन्छ र त्यसलाई कुचीमार्फत क्यानभासमा उतार्छन्। सामाजिक विभेद र कुसंस्कारविरुद्ध आफ्ना चित्रले आवाज उठाओस् भन्ने उनी चाहन्छन्।

उनको कलाकारिताको जग बाल्यकालमै बसेको हो। घरछेउका बाबुलाल पेन्टरले ट्रकमा थरीथरीका पोट्रेट र प्राकृतिक दृश्य बनाएको देखेर मुकेश घण्टौं बिताउँथे। त्यही प्रेरणाले उनलाई चित्रकार बनायो। केही वर्षअघि वीरगन्जमा भएको कला महोत्सवमा मुकेशको एउटा चित्रले सबैको ध्यान तानेको थियो। अन्य कलाकारले सम्पदाका दृश्य उतारिरहँदा मुकेशले भने एउटी युवतीको खुट्टामा केन्द्रित रहेर चित्र बनाएका थिए। एकातर्फ बेहुलीको जस्तो मेहेन्दी र पायल, अर्कातर्फ स्कुल जाने मोजा र खुट्टामा बाँधिएको मोटो साङ्लो— यो चित्रले समाजमा व्याप्त दाइजो प्रथा र बालविवाहको पीडालाई मार्मिक ढंगले व्यक्त गरेको थियो।

छोरीहरूको पढ्ने चाहनालाई दाइजो र बालविवाहले कसरी कुण्ठित बनाउँछ भन्ने उनले नजिकबाट देखेका छन्। उनी भन्छन्, ‘कलाकार समाजको दर्पण हो। समाजको यथार्थ देखाउनु उसको धर्म हो। आजको दृश्य भोलिको पुस्तालाई हस्तान्तरण गर्न चित्र उपयुक्त माध्यम हो।’ मुकेशका चित्रमा प्रायः दाइजो प्रथा, चेलीबेटी बेचबिखन, बालश्रम र प्रदूषणजस्ता मानवीय संवेदनाका विषयहरूले प्राथमिकता पाउँछन्।

चित्रकलामा ‘वाटर कलर’ र ‘एक्रेलिक कलर’ प्रयोग गर्ने मुकेश कुशल मूर्तिकार पनि हुन्। बाल्यकालमा कलकत्ताका मूर्तिकार विनयपालबाट आठ वर्ष लगाएर उनले मूर्ति बनाउन सिकेका थिए। अहिले उनले बनाएका सरस्वती, गणेश, दुर्गा र विश्वकर्माका मूर्तिहरू वीरगन्जका विभिन्न चोकहरूमा देख्न सकिन्छ। मूर्ति बनाउने काममा उनले केही युवालाई रोजगारीसमेत दिएका छन्।

औपचारिक रूपमा एसएलसी सकेपछि भारतबाट ललितकला अध्ययन गरेका मुकेश पूर्णतया कलाकारितामै समर्पित छन्। रहरले सुरु गरेको यो यात्राले आज उनलाई नाम र दाम दुवै दिलाएको छ, जसमा उनी निकै खुसी छन्। अजवी पौड्याल /अन्नपूर्णपोष्ट

Related posts

प्रदेश सरकारको लापरवाहीले पर्साको सखुवा प्रसौनी जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रभावित

MadhesKhabar

मधेशमा छोरीलाई प्राविधीक शिक्षा जरुरी रहेकोमा सरोकारवालाको जोड

MadhesKhabar

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

Leave a Comment