काठमाडौं,२५वैशाख :धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगर प्रमुखको हैसियतले चार वर्षको अवधिमा पाएको तलब सामाजिक काममा खर्च गरेका छन्। उनले आफूले पाउने तलबबापतको रकम विपन्न वर्गका बालबालिकाको शिक्षा, गौसंरक्षणलगायतका सामाजिक काममा खर्च गर्दै आएका छन्।
मेयर हमालले हालसम्म पाएको तलबमध्ये २३ लाख ९७ हजार ६७८ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको बताएका छन्। चालू आर्थिक वर्षसम्म चार वर्षको अवधिमा तलबबापत पाएको कुल ३८ लाख ८२ हजार ८७३ रुपैयाँमा व्यक्तिगत रूपमा पाँच लाख १७ हजार १२६ रुपैयाँ थप गरेर ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका छन्।
त्यसमध्ये २३ लाख ९७ हजार ६७८ रुपैयाँ उनले सामाजिक कार्यमा खर्च गरिसकेका छन्। थप २० लाख दुई हजार ३२१ रुपैयाँ यस वर्ष खर्च गर्न लागेको मेयर हमालले जानकारी दिए। उनले धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थी, दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण, गौशाला संरक्षणलगायत कार्यमा उक्त रकम खर्च गरेका हुन्।
मेयरमा निर्वाचित भएको वर्ष आर्थिक वर्ष २०७८/७९ मा हमालले एक लाख ३७ हजार २७३ रुपैयाँ तलब पाएका थिए। त्यसबाट ५५ हजार ६८७ रुपैयाँ धनगढी– ३ मा रहेको गौ संरक्षण सेवा समिति र ८१ हजार ५८६ रुपैयाँ धनगढीमै रहेको दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई नगद सहयोग गरेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, अनाथ बालबालिका रहने आमाको माया छात्रावास, दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालय र धनगढीकै पञ्चोदय माविमा अध्ययनरत दृष्टिविहीन बालबालिका गरी २६९ जनालाई दुई लाख ६७ हजार आठ सय रुपैयाँको न्यानो लुगा खरिद गरेर उनले वितरण गरेका थिए।
आर्थिक वर्ष २०८०/८१ मा मेयर हमालले नौ लाख ३६ हजार चार सय तलब पाएका थिए। उक्त रकममा ५६ हजार रुपैयाँ व्यक्तिगत तर्फबाट थप गरेर नौ लाख ९२ हजार ६ सय रुपैयाँ धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरणमा खर्च गरेको हमालले बताए।
आर्थिक वर्ष २०८१/८२ मा मेयर हमालले पाएको नौ लाख ३६ हजार चार सय रुपैयाँ तलबमा ६३ हजार ६ सय रुपैयाँ थप गरेर १० लाख रुपैयाँ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरणमै खर्च गरेका थिए। उक्त वर्ष ४७ वटा सामुदायिक विद्यालयका सात हजार ४७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको धनगढीका विज्ञ शिक्षक गणेश भट्टले जानकारी दिए।
आर्थिक वर्ष २०७९/८० मा तलबको नौ लाख ३६ हजार चार सयमध्ये बचत भएको ६ लाख ६८ हजार ६ सय तथा चालू वर्षको तलब नौ लाख ३६ हजार चार सय पनि सामाजिक कार्यमै खर्च गर्ने मेयर हमालले बताए।
धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले यसअघिको बचत र यस वर्षको तलबसमेत गरी कुल १४ लाख ८५ हजार १९५ रुपैयाँ हुने र त्यसमा आफूले व्यक्तिगत रूपमा पाँच लाख १७ हजार १२६ रुपैयाँ थप गरेर २० लाख दुई हजार ३२१ रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको बताए। स्थानीय तहको चुनावका वेला हमालले आफू निर्वाचित भएपछि उपमहानगरपालिकाबाट तलब, सुविधा नलिने प्रतिबद्धता जनाएका थिए। उनले उपमहानरबाट गाडी सुविधा पनि लिएका छैनन्।

