Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री यादवले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब

जनकपुरधाम, २४ वैशाखः मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो निजी सचिवालयमा १० जनालाई नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् । यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कार्यालय सहायक लगायत १० जना नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयमा स्वकीय अधिकृतमा कमलदेव यादव, कम्युटर अपरेटरमा महेश्वर चौधरी, चालकमा दिवस दुलाल, कार्यालय सहयोगीमा विद्यालाल राउत, संजितकुमार यादवलगायत १० जना नियुक्त छन् ।

मधेस प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा स्वकीय सचिवसहित १४ जनासम्म मुख्यमन्त्रीले सचिवालयमा राख्न सक्छन् ।तर जेनजी आन्दोलन पश्चात नेपाल सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तीनै तहको सरकारले गर्नुपर्ने खर्च कटौतीबारे निर्णय गरेको थियो ।

नेपाल सरकारको अर्थ मन्त्रालयले ७ असोजमा तीनै तहको सरकारलाई गरेको परिपत्रको बुँदा नम्बर ५ को (ट) मा ‘नेपाल सरकार, प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न सक्ने’ उल्लेख छ ।

तर, मुख्मयन्त्री यादवले १० जनालाई सचिवालयमा राखेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले उनीहरूलाई तलब खुवाउन मानेका छैनन् । मुख्यमन्त्री यादवले करिब २ महिना अगाडि तलब खुवाउन फाइल लेखाशाखामा पठाएका थिए ।तर, तीनजना भन्दा बढीको तलब खुवाउन नमिल्ने कर्मचारीले अडान लिएका छन् ।

‘संघीय सरकारले सचिवालयमा तीनजना भन्दा बढी नियुक्त गर्न नपाइने परिपत्र गरेको छ । हाम्रो मुख्यमन्त्रीजीले १० जना नियुक्त गर्नु भएको छ । यो संघीय सरकारको परिपत्र विपरीत हो,’ एक कर्मचारीले भने, ‘तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ । भोलि फस्ने डर छ । त्यसकारण त्यो फाइल अड्केको हो ।’

केही दिनअघि मुख्यमन्त्री यादवले सञ्चारकर्मीसँगको भेटघाटमा आफ्नो सचिवालयका कर्मचारीले अहिलेसम्म तलबभत्ता खान नपाएको गुनासो गरेका थिए ।शैलेन्द्र महत्तो /अनलाइनखबर

Related posts

रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्साबाट एक जनामात्रै

MadhesKhabar

पूर्वमन्त्री प्रदीप यादव पनि बने जसपा नेपालको केन्द्रिय समन्वय समिति सदस्य

MadhesKhabar

खतरामा परेको मधेस आन्दोलनका उपलब्धीहरु रक्षाका लागि मेरो उम्मेदवारी हो : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment