वीरगन्ज,८ फागुनः पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले अहिलेको समयको माग नेकपा एमाले रहेको बताएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा शुक्रबार बिहान आयोजित एमालेको बृहत पार्टी प्रवेश तथा वडा भेलालाई सम्बोधन गर्दै यादवले जेनजी आन्दोलन पश्चात खतरामा परेको देश र संविधानलाई जोगाउन सक्ने एकमात्र राजनीतिक शक्ति एमाले नै भएको जिकिर गरे । साथै मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशीता लगायतका उपलब्धीहरुको रक्षापनि एमालेले नै गर्न सक्ने देखेर आँफुले एमाले रोजेको उनले प्रस्ट्याए । मधेस आन्दोलनका उपलब्धीहरु बचाउननकै लागि आँफुले एमालेबाट उम्मेदवारी दिएको उनले बताए ।
पर्सा– १ मा अहिले विभिन्न दलका उम्मेदवारहरु देखिएको भन्दै उनले तीमध्ये कोहिपनि जनताको माझ भिजेका नेता नभएको बताए । पूर्वमन्त्रीसमेत यादवले भने,‘ कोहि बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन् । कोहि उद्योगपति छन् ।ती उम्मेदवारहरु कहिल्यै पनि जनताको दुखसुखमा देखिएनन् । मात्र चुनावका बेला भोट लिन जनताको दैलोमा आउँछन् । चुनाव हारेपछि फेरि ५ वर्ष गायब हुन्छन् । आफ्नो व्यपार पेशामा लाग्छन् ।’
त्यसका कारण पर्सा–१ का जनताको हरेक संकट र विपतमा साथ दिदैं आएको तथा क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको उम्मेदवारको मुल्यांकन गरेर फागुन २१ को निर्वाचनका दिन मतदान गर्न उनले मतदाताहरुसंग अपिल पनि गरे ।
उनले भने,‘ जनताको दुखसुखमा कस्ले साथ दिएको ? कोरोना महामारी , खानेपानीको संकटका बेला जनताको बीचमा को आएर दिनरात नभनेर खट्यो ? जनताको सेवा गर्यो ? यी प्रश्नहरुको जवाफ पहिले स्वंयले खोज्नु होला , अनिमात्र मतदान गर्नु होला भन्ने मेरो अनुरोध छ ।’
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा,मधेस प्रदेश उपाध्यक्ष विचारी यादव,वडाध्यक्ष अवध कुशवाहा लगायतकाकोपनि सहभागिता थियो ।

