वीरगन्ज,२९असोजः जनता समाजवादी पार्टी नेपाल पर्साको सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आउँदो कात्तिक १५ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजन निर्णय गरेको छ ।यस्तै बैठकले कार्यकर्ता सुद्धिकरण गर्दै पार्टीलाई बलियो बनाउन पर्सा जिल्लाको चारै क्षेत्रका कार्यकर्ताको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीका प्रमुख सचेतक एंव साांसद प्रदीप यादवले संगठन सुदृढ बनाउन सुद्धिकरण आवश्यक रहेको भन्दै त्यसका लागि अभियान संचालन गर्नुपर्नेमा जोड दिए । पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पार्टी कोही कसैको स्वेच्छाले नभई सामुहिक निर्णयका आधारमा चलेमात्रै संगठन सुदृढ हुने बताए ।पार्टीलाई तल्लो तहसम्म लैजान महिला, युवा, विद्यार्थी तथा अन्य विभिन्न संगठनलाई मजबुत बनाउनु पर्ने आवश्यकता पनि उनले औंल्याए ।
यस्तै पार्टीका केन्द्रीय सदस्य समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कार्यकर्ता बलियो भए मात्रै पार्टी बलियो हुने भएकाले त्यसका लागि जागरण अभियानका साथै अन्य विविध कार्यक्रम संचालन गराउनु पर्ने आवश्यकता औंल्याए । कार्यकर्तालाई एक ढिक्का हुने गरि गतिविधि संचालन गराउने गरि कार्यतालिका बनाउन पनि उनले पार्टी कमिटीलाई आग्रह गरे ।
जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य जनार्दन यादब, संघीय परिषद् सदस्य शिवजी सोनी, विपिन यादव, नागेन्द्र प्रसाद यादव, जिल्ला सचिव उमेशलाल सहनी, कोषाध्यक्ष प्रेम कुमारी सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, नेक महम्मद अंसारी, रमेश यादव, उमाशंकर तिवारी लगायतको सहभागिता रहेको थियो ।

