काठमाडौं,२०वैशाखः सर्लाही जिल्ला अदालतले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । गत ८ बैशाखमा सर्लाही जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।
न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । यसअघि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्पक्षका लागि थुनामा थिए ।
यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बमजनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट छुटेका थिए ।
यसअघि सर्लाही जिल्ला अदालतले १७ असार २०८१ मा बमजनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि बेपत्ता पारेको आरोप बमजनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।
अदालतमा मुद्दा हुँदा पनि बमजन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले काठमाडौंको बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

