Madhes Khabar
समाचार हेडलाइन

वीरगञ्जमा मसाज तथा स्पा सेन्टरमाथि महानगरको निगरानी, अनुगमन तीव्र

 वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ। मसाज सेन्टरको आवरणमा अनियमित तथा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढ्दै गएपछि महानगरले मंगलबारदेखि संयुक्त अनुगमन थालेको हो।

नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अभियानका लागि नगर प्रहरीलाई नेपाल प्रहरीसँग समन्वय गरेर परिचालन गरिएको उनले बताए।

अनुगमनका क्रममा सञ्चालक र कर्मचारीको विवरण संकलन गर्नुका साथै नाबालिका प्रयोग भए/नभएको विषयमा विशेष निगरानी गरिएको छ। त्यस्तै, व्यवसाय दर्ता, सञ्चालन अनुमति, कर भुक्तानी, सेवा सञ्चालनको स्वरूप तथा निर्धारित मापदण्ड र आचारसंहिताको पालना भए/नभएको विषय पनि जाँच भइरहेको जनाइएको छ।

महानगरका अनुसार हालसम्म अनुगमन गरिएका दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ। यस्तो गतिविधिमा संलग्न पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी महानगरले दिएको छ।

अहिलेसम्म एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरको स्थलगत निरीक्षण सम्पन्न भइसकेको नगर प्रहरीले जनाएको छ। प्रारम्भिक अनुगमनमा केही व्यवसायमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।

महानगरपालिकाले नियमविपरीत सञ्चालन हुने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने अभियान जारी रहने जनाएको छ।

Related posts

वीरगन्जको सम्मेलनमा देशभरबाट ७०० कानुन व्यवसायी महिला सहभागी हुदै

MadhesKhabar

हुण्डी कारोबारीको आशंकामा रक्सौलका बब्लुराज वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

MadhesKhabar

Leave a Comment