Madhes Khabar
समाचार

विशेष आर्थिक क्षेत्र सिमराको ४९० बिघा जग्गा अतिक्रमणमा, हटाउने तयारी तीव्र

वीरगन्ज : देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) सिमराको ठूलो हिस्सा वर्षौंदेखि अतिक्रमणमा परेको खुलासा भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार कुल ८ सय ३३ बिघा क्षेत्रफलमध्ये करिब ४ सय ९० बिघा जग्गा हाल अतिक्रमणमा रहेको छ भने प्राधिकरणको प्रत्यक्ष भोगचलनमा केवल ३ सय ४३ बिघा मात्रै बाँकी रहेको छ।

प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार आर्थिक क्षेत्र स्थापना भएयतादेखि नै अतिक्रमण हटाउने प्रयास हुँदै आए पनि प्रभावकारी रूपमा सफल हुन सकेको छैन। उक्त जग्गा साविक वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको थियो। चिनी कारखाना सञ्चालनका क्रममा उखु खेतीका लागि केही मजदुरलाई अस्थायी रूपमा बसोबास गर्न दिइएको थियो।

समयसँगै ती मजदुरका परिवार विस्तार हुँदै गएपछि त्यहाँ स्थायी घरटहरा निर्माण हुन थालेको र बाहिरका व्यक्तिहरू समेत आएर बसोबास गर्न थालेको प्राधिकरणको भनाइ छ। अहिले आर्थिक क्षेत्रभित्र झण्डै ६ सय घरटहरा निर्माण भइसकेका छन् भने अतिक्रमित जग्गामा खेतीपातीसमेत भइरहेको छ।

विशेष आर्थिक क्षेत्रको जग्गा एदेखि ईसम्म पाँच ब्लकमा विभाजन गरिएको छ। तीमध्ये ‘ए ब्लक’ बाहेकका अधिकांश क्षेत्र अतिक्रमणको चपेटामा परेको जनाइएको छ।

प्राधिकरणले विगतमा पटक–पटक अतिक्रमण हटाउने प्रयास गरे पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको जनाएको छ। तर यसपटक संघीय सरकारकै निर्देशनपछि जीतपुर–सिमरा उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अधिकारीहरूका अनुसार प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरेर सकेसम्म चाँडो जग्गा खाली गराउने तयारी भइरहेको छ।

श्रोत:शंकर आचार्य/कान्तिपुर

Related posts

घर–घरमा स्वच्छ खानेपानी पु-याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

MadhesKhabar

बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सेवानिवृत्त शिक्षकको मृत्यु

MadhesKhabar

वीरगन्ज-कलैया सडकखण्डमा सिटीराइड बसकाे ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते

MadhesKhabar

Leave a Comment