वीरगन्ज, ७ वैशाखः वीरगन्जमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरंग कक्ष (आईपीडी) सेवापनि सञ्चालनमा ल्याइएको छ ।
धेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले उक्त सेवाको सोमबार उद्घाटन गरेसंगै उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री रायले आयुर्वेदिक तथा वैकल्पिक उपचार प्रणालीलाई सुदृढ बनाउनु समयको आवश्यकता भएको बताए । आईपीडी सेवाको सुरुवातले सर्वसाधारणलाई गुणस्तरीय, सुरक्षित र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास उनले व्यक्त गरे। उनले प्रदेश सरकारले आयुर्वेद क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राखेको पनि बताए।
त्यस्तै, कृषि मन्त्री पटेलले आयुर्वेदिक उपचार प्रणाली नेपाली जीवनशैलीसँग घनिष्ठ रूपमा जोडिएको उल्लेख गर्दै यसको प्रवद्र्धनले स्वास्थ्यसँगै कृषि तथा जडीबुटी उत्पादनमा सकारात्मक प्रभाव पार्ने धारणा राखे। उनले स्थानीय स्रोत र सीपको सदुपयोगमार्फत आयुर्वेद क्षेत्रलाई आत्मनिर्भर बनाउने आवश्यकता औंल्याए।
कार्यक्रममा चिकित्सालयका प्रमुख डा. शिवनारायण प्रसाद गुप्ताले स्वागत मन्तव्य राख्दै अब अस्पतालले बिरामीलाई भर्ना गरेर उपचार सेवा प्रदान गर्न सक्ने जानकारी दिए। उनले आईपीडी सेवा सञ्चालनले उपचार प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र विश्वासिलो बनाउने विश्वास व्यक्त गरे।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनिल प्रसाद सिंहले क्ष्एम् सेवा सञ्चालन अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। सीमित स्रोत र साधनका बाबजुद टोलीको समन्वय र प्रतिबद्धताले सेवा विस्तार सम्भव भएको उल्लेख गर्दै उनले आगामी दिनमा आयुर्वेदिक उपचारलाई अझ गुणस्तरीय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता जनाए। साथै, स्थानीय स्तरमै सहज र भरपर्दो उपचार सेवा उपलब्ध गराउने लक्ष्यका साथ निरन्तर सुधार र विस्तारमा लाग्ने उनले बताए।
उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वडाध्यक्ष रमेश यादव, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, डा. पुनिता केसरी, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य राहुल गुप्ता, नागेन्द्र प्रसाद पटेल, विकास व्यवस्थापन समितिका सदस्य हिरालाल साह कानु, नेहा मिश्रलगायतको पनि उपस्थिति रहेको थियो।

