वीरगन्ज ,५ बैशाख :पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लबले पाँच गोल अन्तरले विजयी सुरुवात गरेको छ ।शनिबार परवानीपुर खेल मैदानमा भएको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लबले यंग स्टार क्लब बिहार भारतलाई ५–० गोल अन्तरले हराएको हो ।
खेल सुरु भएको तेस्रो मिनेटमा शक्ति युवा क्लबका कप्तान सन्दीप यादवले पहिलो गोल गरेर अग्रता टिमलाई अग्रता दिलाए । सुरु देखि दबाबमा परेको यंग स्टार फुटबल क्लब बिहारले ७ औं मिनेटमा दोस्रो गोल खाएको हो । दोस्रो गोल पनि शक्ति युवा क्लबका कप्तान सन्दीपले गरेका हुन् ।
पहिलो हाफ सम्म दुई गोलले अग्रता बनाएको शक्ति युवा क्लबले खेलको ५३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । टिमका लागि तेस्रो गोल आशिष थिङले गरेका थिए ।खेलमा निरन्तर दबाब बनाएको शक्ति युवा क्लबले खेलको ६२ मिनेटमा चौथो गोल हानेको थियो । यो गोल पनि शक्ति युवा क्लबका कप्तान सन्दीपले गरेका थिए । उनको यो ह्याट्रिक गोल थियो ।
यस्तै खेलको ६४ मिनेटमा पनि शक्ति युवा क्लबका सन्दीप क्षेत्रीले थप एक गोल गरेर ५–० को नतिजासहित आफ्नो टिमलाई जित दिलाए ।
खेलको म्यान अफ दी म्याच शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित हुदै २१ सय रुपैयाँ नगद प्राप्त गरे । उनलाई भेट्रान सिटि क्लबका अध्यक्ष सबिन बस्नेत पुरस्कार प्रदान गरे । आइतबारको खेल निजगढ फुटबल क्लब निजगढ र वीरगन्ज युथ एकेडेमी वीरगन्ज बीच हुनेछ ।
आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षता भएको कार्यक्रममा प्रतियोगिताको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए । एक हप्ता सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले भाग लिने प्रतियोगीताका सहसंयोजक दिपक यादवले जानकारी दिए ।
प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।
उदघाटन कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , वीरगन्ज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्ण साह रौनियार , समाजसेवी नागमणी उपाध्याय , विजय गुप्ता सहितका अतिथिहरुको सहभागिता रहेको थियो ।

