रौतहट, ४ वैशाख :रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको (हुण्डीको) पाँच लाखभन्दा बढी नगद रकम सहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। बोर्डर आउट पोस्ट बेलबिछवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले राजदेवी नगरपालिका–८ बाट ५ लाख २२ हजार रुपैयाँ नगद सहित एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटर साइकलमा सवार भारतको बिहार राज्यको सितामढीका नजिर नटको साथबाट नेपाली रुपैयाँ ३ लाख २२ हजार र सर्लाहीका मुम्ताज अंसारीको साथबाट नेपाली रुपैयाँ २ लाख ४ सय ९० रुपैयाँ बरामद भएको प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले बताए।
पक्राउ परेका दुवै जनाले रकमको स्रोत खुलाउन नसकेपछि मोटर साइकल र नगदसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको बिष्टले बताए।

