Madhes Khabar
खेलकुद

एपीएफले मधेसलाई हराउँदा सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

वीरगन्ज,३० चैतः विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेसंगै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफ ७४ रनले बिजयी हुँदा १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिमले अब त्रिभुवन आर्मी क्लबसंग बैशाख ४ गते फाइनल खेल्नेछ । फाइनलमा प्रवेश गरेको आर्मीको १३ अंक छ । दुई खेल अगावै फाइनलमा प्रवेश गरेको आर्मीले अब अन्तिम खेल लुम्बिनीसँग खेल्नेछ ।

प्रधानमन्त्री कपको फाइनल खेल्ने सम्भावना कायम राख्न ९ अंकसहित तालिकाको चौथो स्थानमा रहेको मधेसलाई सोमबार भएको खेलमा एपीएफविरुद्ध जित आवश्यक थियो । एपीएफ र नेपाल पुलिस क्लबको खेलमा जित निकालेको भए मधेस १३ अंकसहित फाइनलमा प्रवेश गर्ने निश्चित थियो । तर एपीएफसँगको हारसँगै पाँचौं स्थानमा झरेको मधेसको फाइनल यात्रा समाप्त भएको हो ।

मधेस र पुलिसबीचको भिडन्त अब तालिकाको तेश्रो वा चौथो स्थानका लागि मात्रै हुनेछ । ९ अंकसहित पुलिस चौथो स्थानमा छ भने पाचौं स्थानमा रहेको मधेसको पनि ९ अंक छ । एपीएफ ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । मधेस र पुलिसबीचको विजेताले दुई अंक प्राप्त एपीएफसंग बराबरी हुनेछ र नेटरनरेटका आधारमा तेस्रो हुने टिमको टुंगो लाग्नेछ ।

सोमबार भएको खेलमा एपीएफलाई पराजित गर्दै शीर्ष दुईको सम्भावना जिवित राख्ने दाउमा रहेको मधेसविरुद्ध आशिफ शेख बाधक बने । आशिफले विष्फोटक ब्याटिङ गर्दै प्रधानमन्त्री कपको इतिहासै पहिलो पटक दोहोरो शतक बनाए । प्लेयर अफ दि म्याच आशिफले १४२ बलमा २०८ रन जोडे । आशिफ प्रधानमन्त्री कपको एउटै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि उक्त रेकर्ड एपीएफका तत्कालिन खेलाडी प्रदीप ऐरीको नाममा थियो । प्रदीपले सन् २०१८ मा किर्तिपुरस्थित त्रिवि मैदानमा मधेस प्रदेशविरुद्धनै १५८ रन जोडेका थिए ।

आफ्नै गृह जिल्ला पर्सामा इतिहास रच्ने क्रममा आशिफ एउटै इनिङमा सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् । आशिफले मधेस प्रदेशविरुद्ध १७ वटा छक्का र १५ वटा चौका प्रहार गरे । यसअघि उक्त रेकर्ड ११ वटा छक्का प्रहार गर्ने सुन्दर खनालको नाममा थियो । सन् २०१७ मा पश्चिमाञ्चलबाट खेलेका सुन्दरले एपीएफविरुद्ध ११ वटा छक्का प्रहार गर्दै अविजित ९० रन बनाएका थिए ।

समूह चरणको अन्तिम खेलमा शानदार ब्याटिङ गरेका आशिफ जारी प्रतियोगिता अवधीभर सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौंबाट दोस्रो स्थानमा उक्लिएका छन् । आशिफले ४५७ रन बनाएका छन् । उनीभन्दा माथि ४९८ रन जोडेका गण्डकीका अर्जुन कुमाल छन् । गण्डकीले एक खेल खेल्न बाँकी छ ।

प्रधानमन्त्री कप अन्तर्गत लिगको खेल टुंयाएको एपीएफले समेत नयाँ रेकर्ड कायम गरेको छ । एपीएफले एउटै इनिङमा सर्वाधिक रन बनाउने टोलीको किर्तिमान बनाएको हो । जारी प्रधानमन्त्री कपमै आफूविरुद्ध नेपाल पुलिसले मुलपानी मैदानमा बनाएको ३३५ रन रेकर्ड तोड्दै एपीएफले नयाँ किर्तिमान खडा गरेको हो ।

मधेसविरुद्ध ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन बनाउने क्रममा कप्तान रोहित पौडेलले ५५ र सन्दीप जोराले ५६ रनको अर्धशतकीय पालि खेले । लोकश बम २१ र कमल ऐरी १८ रनमा अविजित रहे । मधेसका रुपेश सिंहले तीन र रञ्जित कुमारले एक विकेट लिए ।

एपीएफले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याएको मधेस ५० ओभरमा आठ विकेट गुमाएर ३१६ रन जोड्यो । एपीएफविरुद्ध खराब सुरुवात गर्दा निराश बनेका दर्शकलाई मधेसको मध्यक्रमका ब्याटरले आशा जगाएका थिए । ओपनर मयन यादव शून्यमै पेभेलियन फर्किएपछि कप्तान अनिल साह र महमद समीरले इनिङ सम्हालेका थिए । साह व्यक्तिगत २९ रनमा आउट भए । लगत्तै आएका पवन सर्राफले पनि सात रन मात्रै बनाए ।

सुरुवाती ब्याटर आउट भएपछि सुस्ताएको मधेसको इनिङलाई अरनिको यादव, आदिल आलम, विशाल सुस्लिङले सम्हाल्ने प्रयास गरे । उनीहरुको शानदार ब्याटिङका कारण मधेसले तीन सय रनको योगफल कटाएपनि हार टार्न सकेनन् । मधेसले ५० ओभरमा आठ विकेट गुमाएर ३१६ रन जोड्यो । आदिलले विष्फोटक ब्याटिङ गर्दै ४३ बलमा ८६ रन बनाए । आदिलले आठ छक्का र ६ चौका प्रहार गरे । अरनिकोले ६ छक्का र आठ चौकासहित ८६ रन प्रहार गरे । विशालले ३९ रन जोडे । एपीएफलका अभिषेक गौतमले तीन विकेट लिए । कमल ऐरीले दुई विकेट लिँदा रोहित पौडेल, भुवन कार्की र युवराज खत्रीले एक÷एक विकेट हात पारे ।साभारःअन्नपूर्णपोष्ट

Related posts

बैंग्लाेरमाथि मुम्बईकाे सहज जित

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

जिम्बाब्वेसँगको क्रिकेट सिरिजका लागि नेपाली टोलीको अभ्यास शुरु

MadhesKhabar

Leave a Comment