Madhes Khabar
राष्ट्रिय

प्रधानमन्त्री बालेनको वाचा : सम्भव भएसम्म सबै समस्या समाधान गर्छु

काठमाडौं,२० चैत:प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्दै सम्भव भएसम्म तत्काल समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।

त्यस क्रममा शाहले ३ घण्टा प्रदेशका १५ सांसदसँग छलफल गरेको नवलपरासी बर्दघाट सुस्ता पूर्व–१ बाट निर्वाचित सांसद राजेन्द्र गौतमले बताएका छन् ।

‘गण्डकीबाट हामी १८ जना निर्वाचित सांसद छौँ । ३ जना मन्त्री ज्यूहरू व्यस्तताका कारण बैठकमा सहभागी हुन सक्नुभएन । प्रधानमन्त्रीसँग हामी १५ जनाले ३ घण्टा छलफल गर्‍यौँ,’ गौतमले भने ।

उनका अनुसार छलफलमा शाहले सांसदसँग समस्यासँगै समाधानका विकल्पसहित सुझाउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री आफूले सम्बोधन गर्न भन्दा पनि सबै सांसदका कुरा सुनिरहेको उनले बताए ।

‘प्रधानमन्त्रीले सांसदले आफ्नो क्षेत्रमा भएका समस्या बताउँदै गर्दा सुनिरहनुभयो । उहाँको सचिवालयले भने ती समस्या सबै टिपोट गर्दै हुनुहुन्थ्यो,’ उनको भनाइ छ ।

त्यस क्रममा आफूले जनताको चाहनाअनुरूप जिल्लाको नाम नवलपरासी बर्दघाट सुस्ता पूर्व भएकोमा नवलपुर कायम गर्ने विषय उठान गरे ।

‘जिल्लाको नाम नवलपुर कायम गर्दै विकासका योजना र अलपत्र आयोजनाका विषय उठान गरेँ । अन्य सांसदहरूले पनि जनताका गुनासो र आफ्नो क्षेत्रबारे यस्तै कुरा गर्नुभयो,’ उनले भने ।

यस्तै, स्याङ्जा–२ बाट निर्वाचित सांसद झबिलाल डुम्रेले भने नदीजन्य उत्खनन् तथा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, लगायतका विषय बुँदागत रुपमा समस्या र समाधानबारे बताए ।

Related posts

जाजरकोट भूकम्प : मृतक परिवारलाई २ लाख राहत, घाइतेको उपचार निःशुल्क

MadhesKhabar

नेपालका कृषि मन्त्रीको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

MadhesKhabar

विरगन्ज कृषि औजार कारखानाको लागि महावीर पुनले राखे मेडल लिलामीमा

MadhesKhabar

Leave a Comment