वीरगन्ज,१९ चैत : मधेसको समाजमा कुष्ठ रोग कुकर्मको पाप र दैवी श्राप हो भन्ने सोच अझै पनि हट्न नसकेको सरोरवालाहरुले बताएका छन् ।कुष्ठ रोग नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको द लेप्रोस्कोपी नेपाल नामक संस्थाले बिहीबार वीरगन्जमा आयोजना गरेको सरोकारवालाहरुसंग कुष्ठरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा द लेप्रोस्कोपी नेपालका मधेस प्रदेश प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले मधेसी समाजमा कुष्ठरोगका बारेमा व्याप्त सोचमा अझै परिवर्तन आउन नसकेको जानकारी गराए। कुष्ठरोग कुकर्म र देवी देवताको श्रापले लाग्ने रोग रहेको भन्ने पुरातनवादी सोच अझै पनि विद्यमान रहेको उनले बताए । जसका कारण कुष्ठ रोगीले आफ्नो रोग लुकाएर राख्ने गरेको पाइएको उनले बताए ।
मधेसी समाजमा कुष्ठरोगका बारे विद्यमान पुरातनवादी सोचका कारण कुष्ठ रोगीसंग घरपरिवार र समाजले घृणाको व्यवहार गर्ने गरेको उनले बताए । मिकरानीले भने, पढेलेखेका शिक्षित व्याक्तिहरु भएकै परिवारमा कुष्ठ रोग लुकाएर राखेको देखियो । लोकलाज र समाजको डरले उपचार नगराएर वर्षौदेखि रोग लुकाएर राखेको पनि भेटियो ।
उनले भने , समाजमा अझै पनि कुष्ठ रोगका बारेमा अनेक भ्रमहरु विद्यमान छन् । कुष्ठरोग भनेको पापको कारणले, श्रापको कारणले , देवी देउताको कारणले , नाग लागेर, रगत बिग्रिएर लाग्ने रोग हो , यो रोग कहिले निको नहुने र एकदमै सर्ने रोग हो भन्ने गलत धारणा र सोचपनि छ ।
उनले कुष्ठ रोग कुनै कुकर्म वा देवी देवताको श्रापका कारण नभई माइकोब्याक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग भएको र यसको सही समयमा सही उपचार गरिए निको हुन सक्ने सन्देश समाजमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका अगुवाहरुले पनि कुष्ठ रोगका बारे समाजमा व्याप्त नकरात्मक सोच हटाउनका लागि आआफ्नो समुदायमा आँफुहरु लाग्ने प्रतिबद्धता जनाए ।
हिन्दु धर्मका अगुवा अमोद पाण्डेले कुष्ठ रोगबारे समाजमा व्याप्त नकरात्मक सोचमा परिवर्तन ल्याउन आँफुहरु लाग्ने प्रतिबद्धता जनाए । उनले भने, कुष्ठ रोग कुनै पाप होइन, कुनै श्रापले लाग्ने रोग पनि होइन ।अरु रोग जस्तै समयमा उपचार गरिएमा निको हुनसक्ने रोग योपनि हो । यो कुरा अब हामी आँफैले पनि समाजमा गएर बुझाउनु जरुरी छ ।
वीरगन्जस्थित चर्चका प्रतिनिधि नीरज आचार्यले क्रिश्चियन समुदायमा कुष्ठरोगीसंग कुनै किसिमको विेभद हुन नदिन आँफुहरु लागि पर्ने प्रतिबद्धता जनाए । उनले भने, हाम्रो समुदायमा कुष्ठ रोगलाई कुनै कुकर्मको पाप हो भनेर मानिदैन । न त रोगीसंग कुनै विभेद नै गरिन्छ । यदि कहिकतै त्यस्तो गलत भएको छ भने त्यसलाई रोक्न हामी लाग्छौं ।
कार्यक्रममा सहभागी मुस्लिम धर्मकी प्रतिनिधि सबाना खातुनले पनि मुस्लिम समुदायमा कुष्ठ रोगका बारेमा सही जानकारी नभएका कारण यसबारेमा गलत धारणाहरु विद्यमान रहेको बताइन् । उनले कुष्ठ रोग एक प्रकारको सरुवा रोग भएको र समयमै उपचार गराएमा निको पनि हुनसक्ने सन्देश समुदायमा प्रवाह गर्न आवश्यक रहेको बताइन् ।
पर्सा जिल्लामा कुष्ठ रोगीको अवस्था के छ ?
पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०८२–८३ को फागुन सम्म कुष्ठ रोगका ४४ जना नयाँ संक्रमित भेटिएका छन् । द लेप्रोस्कोपी नेपालका मधेस प्रदेश प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीका अनुसार, तीमध्ये सबै भन्दा बढी वीरगन्ज महानगरपालिकामा १७ जना नयाँ संक्रमित भेटिएका हुन् । चालू आर्थिक वर्षमै जिल्लाको ठोरी , कालिकामाई र धोबिनी गाँउपालिकामा भने कुष्ठ रोगको नयाँ संक्रमित एक जनापनि नभेटिएको मिकरानीले जानकारी दिए ।
यस्तै छिपहरमाई , बिन्दवासिनी र पकहाँ मैनपुर गाँउपालिकामा ५–५ जना, पोखरिया नगरपालिका र जगरनाथपुर गाँउपालिकामा ४–४ जना , जिराभवानी गाँउपालिका र बहुदरमाई नगरपालिकामा २–२ जना, पर्सागढी नगरपालिका र र पटेर्वा सुगौली गाँउपालिकामा १ –१ जना कुष्ठ रोगका नयाँ संक्रमित भेटिएको जानकारी उनले दिए ।
मिकरानीका अनुसार, गत आर्थिक वर्ष २०८१–८२ मा भने पर्सा जिल्लाका १४ वटै पालिकामा गरी १०९ जना कुष्ठरोगी भेटिएका थिए ।
कार्यक्रममा द लेप्रोस्कोपी नेपालका मधेस प्रदेश प्रोजेक्ट म्यानेजर मिकरानीले कुष्ठ रोग रोकथाम तथा नियन्त्रणका लागि आफ्नो संस्थाले सञ्चालन गरिरहेको अभियानमा जिल्लाका पालिकाहरुबाट अपेक्षीत सहयोग पाउन नसकेको गुनासो गरे ।
कुष्ठ रोग रोकथाम तथा नियन्त्रणका लागि सञ्चालित जनचेतनामुलक कार्यक्रमहरुमा पालिकाहरुले बजेटको अभाव देखाउँदै सहयोग नगरेको उनले बताए । जसका कारण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको गुनासो उनले गरे ।

