वीरगन्ज,१३ चैत :प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको हो ।
जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको खेलमा मधेसले प्रस्तुत गरेको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ‘अलआउट’ भएर ९९ रन मात्रै बनाउन सक्यो ।
लुम्बिनीका लागि सुमित श्रेष्ठले ३० रन, सन्देश थापाले १६ रन तथा कप्तान देव खनाल र सन्तोष यादवले समान १२ रन बनाए ।
लुम्बिनीलाई सस्तैमा समेट्न मधेसका बलर विशाल पटेल एक्लैले ५ विकेट र्लिए । तीन ‘मेडन’ ओभर फ्याकेका उनले २४ रन मात्र खर्चिए । यस्तै प्रदीप पासवानले दुई विकेट तथा रुपेश सिंह, पवन सराफ, मोहम्मद आदिल आलम र आसिक बैठले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले ३८.१ ओभरमा ‘अलआउट’ भएर १२४ रनको योगफल खडा गरेको थियो ।मधेसका लागि मयन यादवले ३१ रन बनाए । मोहम्मद आदिल आलमले २३ रन जोडे । पवन सराफले १९ र अर्निको यादवले ११ रन जोडे ।
लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले समान तीन विकेट लिए । अजय चौहानले दुई विकेट लिँदा निर्मल गुरुङले एक विकेट लिए ।
जितसँगै मधेसले प्रतियोगतामा लगातार दोस्रो जित निकालेको छ । पाँच अंक जोडेको मधेसले तीन खेलमा दुई जित हासिल गरेको छ । मधेसको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

