वीरगन्ज,२३फाल्गुनःवीरगन्जमा जारी वीरगन्ज सुपर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा पर्सा स्टार्स विजयी भएको छ ।नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा पर्सा स्टार्सले पर्सा राइनोजलाई ३ विकेटले पराजित गरेको हो ।
पर्सा राइनोजले दिएको १३४ रनको लक्ष्य पर्सा स्टार्सले १८.१ ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेको. हो। उसका लागि हासिम अन्सारीले सर्वाधिक ४८ रन बनाए । उनले ४१ बलमा ७ चौका हाने ।यस्तै सम्शाद अली मन्सुरीले १६ बलमा २१ रन प्रहार गरे ।
बलिङतर्फ पर्सा राइनोजका सुशल सर्राफले ३ तथा सोहैल अटारीले २ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्सा राइनोजले १९ ओभरमा ९ विकेटको क्षतिमा १३३ रनको योगफल खडा गरेको थियो । उसका लागि अरविन्द यादवले ३१ बलमा ३२ रन र अखिल खानले ३२ बलमा ३५ रन जोडेका थिए । बलिङतर्फ पर्सा स्टारका लागि रिजवान अन्सारी एक्लैले ५ तथा सम्शाद अली मन्सुरीले १ विकेट लिएका थिए ।
पाँच विकेट लिन सफल पर्सा स्टार्सका रिजवान खेलको म्यान अफ दी म्याच घोषित भए । यसअघि मंगलबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा पर्सा युनाईटेडलाई ३६ रनले पराजित गर्दै पर्सा राइडर्सले विजयी सुरुवात गरेको थियो ।
प्रतियोगितामा पर्सा युनाइटेड, पर्सा राइडर्स, पर्सा स्टार, पर्सा वारियर्स, पर्सा राइनोस र पर्सा टाइटन्स गरी ६ वटा टिमले सहभागिता जनाएका छन् ।

