वीरगन्ज,२४फागुनः पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेश यादवको जमानत जफत भएको छ।फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालको पर्सा जिल्ला अध्यक्षसमेत रहेका यादवले कुल खसेको मतको १० प्रतिशतभन्दा पनि कम मत प्राप्त गरेकाले उनको जमानत जफत भएको हो ।
पर्सा–१ मा रास्वपाका हरि पन्त कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेर निर्वाचित हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलले १३ हजार ३० मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा समिति भएका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।
पर्सा–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको हो जसमा करिब ५७ हजारभन्दा बढी सदर मत खसेको थियो। निर्वाचन आयोगका अनुसार कुनै पनि उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ। तर जसपा नेपालका उम्मेदवार यादवले कुल सदर मतको १० प्रतिशत पनि मत पाउन सकेनन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणामको अन्तिम नजिता अनुसार जसपा नेपालका उम्मेदवार यादवले १ हजार २०१ मत मात्र प्राप्त गरेका छन्। पर्सा–१ मा खसेको कुल मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनको जमानत जफत भएको हो ।
फागुन २१ को निर्वाचनमा जसपा नेपालका उम्मेदवार यादवलाई जसपा नेपालका बरिष्ठ नेता तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गदीको बलियो साथ रहेको थियो। यादवको चुनावी कमाण्डर बनेर लागे पूर्वमुख्यमन्त्री राउतले आफ्नै पहल र प्रभावमा यादवलाई चुनाव मैदानमा उतारेको बताइएपनि अपेक्षित मत भने जुटाउन सकेनन्।स्थानीय स्तरमा संगठन विस्तार र जनसमर्थन कमजोर देखिएकाले यादवको मत अत्यन्त न्यून आएको देखिन्छ।

