Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जको कार्टुन उद्योगमा एक मजदुरको मृत्यु: घटना शंकास्पद रहेको परिवारजनको दाबी

प्रमोद यादव
पर्सा,१८फागुन:वीरगन्ज महानगरपालिका वडा नंबर २४ रामगढवास्थित एस.पी.एम. कार्टुन उद्योगमा आइतबार साँझ एक मजदुरको मेसिनमा च्यापिएर मृत्यु भएको छ। साँझ करिब ५ बजे पर्सागढी नगरपालिका वडा नंबर ५ हर्दिया टोलका २७ वर्षीय वीरेन्द्र पण्डितको मेसिनमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतकका आफन्त उमेश पण्डितका अनुसार घटनाको समय र परिस्थिति शंकास्पद देखिएको छ।परिवारजनले उद्योगमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटना हुनुभन्दा अगाडि र पछाडिको दृश्य देखिए तापनि, ठ्याक्कै घटना भएको समयको दृश्य नदेखिनुले गम्भीर प्रश्न उठाएको बताएका छन्।

 

पीडित पक्षले सीसीटीभी फुटेजको अवस्था र घटनाको प्रकृति हेर्दा यसमा कुनै कमजोरी वा लुकाउन खोजिएको तथ्य हुनसक्ने भन्दै प्रशासनसँग गहिरो र सत्यतथ्य छानबिनको माग गरेका छन्।

 

घटनापछि उद्योगका सञ्चालक भनिएका महेश शर्मा सम्पर्कमा नरहेको पीडित परिवारले बताएका छन्। उद्योग व्यवस्थापन पक्ष सम्पर्कमा नआउँदा पीडित परिवार थप आक्रोशित र चिन्तित बनेका छन्।

 

जिल्ला प्रहरी कार्यालय पर्साले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी अनुसन्धान सुरु गरिएको छ।सीसीटीभी फुटेज र प्राविधिक पक्षको सुक्ष्म विश्लेषण भइरहेको छ।छानबिनमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रशासनले व्यक्त गरेको छ।

 

मृतकको शव परीक्षणका लागि घटनाको स्थलगत मुचुल्का भइसकेपश्चात पीडितको मन्जुरीमात्रै शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइने छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Related posts

पर्साको मुड्लीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा तालाबन्दी

MadhesKhabar

मधेस-काठमाडौं द्रुतमार्गको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा कम

MadhesKhabar

सिमलतालमा त्रिशुली नदीमा खसेको गणपति डिलक्सको बस डेढ वर्षपछि भेटियो

MadhesKhabar

Leave a Comment