वीरगन्ज,१६फागुनःपर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाले बिन्दबासिनी गाउँपालिकाका अमरपट्टी, इटियाही, मधवल लगायत विभिन्न वाडहरुमा घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै चौरसियाले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट, संवाद र सुझाव संकलनमा सक्रियता देखाएका छन्।
घरदैलोका क्रममा चौरसियाले स्थानीय बासिन्दासँग विकास निर्माणका दीर्घकालीन योजना, सडक तथा अन्य पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति, कृषि आधुनिकीकरण तथा युवाका लागि रोजगारी सिर्जनाका विषयमा विस्तृत छलफल गरेका थिए। उनले विगतमा आफ्नो पहलमा सम्पन्न भएका विकासे कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा प्रक्रियामा रहेका योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
चौरसियाले क्षेत्रलाई आर्थिक, शैक्षिक र सामाजिक दृष्टिले नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरी बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने बताए।
कार्यक्रमका क्रममा स्थानीयवासीले क्षेत्रको समग्र विकास, मुख्य तथा भित्री सडकको स्तरोन्नति, सिंचाइ सुविधाको विस्तार, दीगो खानेपानी व्यवस्थापन, स्वास्थ्य चौकीको सुदृढीकरण तथा युवालाई स्वदेशमै रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका थिए। साथै, कृषकलाई मल–बीउको सहज उपलब्धता र साना उद्यम प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन पनि सुझाव दिएका थिए।

