Madhes Khabar
राजनीति

कांग्रेसमा महामन्त्री थापाको लिखित मत : भ्रष्टाचारमा मुछिएका नेतालाई निलम्बन गर्नुपर्छ

काठमाडौं,८साउन:नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका र अनुसन्धानको दायरामा आएका सबै नेता कार्यकर्तालाई निलम्बन गर्न प्रस्ताव गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा आफ्नो १३ बुँदे लिखित धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘… नक्क्ली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ त्यसरी पार्टीबाट पनि हुन्छ ।’

प्रतिनिधिसभा नियमावली २०७९ मा पुर्पक्षका लागि थुनामा परेका सांसदलाई निलम्बन गर्ने व्यवस्था छ । थापाले नेपाली कांग्रेस संसदीय व्यवस्था मान्ने राजनीतिक शक्ति भएकाले संसदीय मामिलामा जे जसरी यो विषय व्यवस्थापन गरिएको छ, कांग्रेसले पनि त्यसलाई मान्नुपर्ने बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसभासद आङटाङ शेर्पा पुर्पक्षका लागि थुनामा छन् ।

महामन्त्री थापाले भ्रष्टाचार, आर्थिक अनियमितता, गैरकानुनी आम्दानी, नैतिक पतन देखिने फौजदारी अभियोग, सामाजिक अपराधजस्ता विषयमा जुनसुकै तहको नेता कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा परेमा मुद्दा किनारा नलागेसम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने बताए । तर उनीहरुले राजीनामा नदिए पार्टीले भारी बोक्न नसक्ने थापाको भनाइ छ ।

‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुन सक्छ । तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्न हुँदैन’ उनले भने, ‘यदि उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिएमा मुद्दाको न्यायिक निरुपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्छ ।’

राजनीतिक दलका पदाधिकारीको वैयक्तिक आचारणका विषयमा प्रश्न उठेर फौजदारी अभियोग लाग्नु गम्भीर विषय हो भन्दै थापाले पार्टीसँग त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने राजनीतिक र नैतिक आधार नहुने बताए ।साभार:अनलाइनखबर

Related posts

घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो

MadhesKhabar

वीरगन्जमा मधेस आन्दोलनमा ढालिएको गिरिजा कोइरालाको शालीक फेरि ठडियो

MadhesKhabar

पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश

MadhesKhabar

Leave a Comment