वीरगञ्ज, फागुन १५: यही फागुन २१ गते हुन लागेको निर्वाचन तथा निर्वाचनअघि पर्ने होली पर्वलाई लक्षित गर्दै पर्सामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिने र तेस्रो घेरामा नेपाली सेना रहने श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिएका छन्।
उनका अनुसार एकीकृत सुरक्षा योजना अनुरूप आम नागरिकलाई सुरक्षित अनुभूति दिलाउँदै निर्धक्क भएर मताधिकार प्रयोग गर्ने वातावरण तयार पारिएको छ। “मतदान स्थलमा कुनै जोखिम नहोस् भन्ने हाम्रो प्राथमिकता हो, तर जोखिमको संकेत देखिएमा तत्काल शान्ति–सुव्यवस्था कायम गर्ने गरी सुरक्षा संयन्त्र तयारी अवस्थामा छ,” उनले भने।
पत्रकारहरूसँगको छलफलमा प्रमुख सेनानी कार्कीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा चार तहको सुरक्षाकर्मी संयुक्त रूपमा खटिने बताए। पछिल्लो समय देखिएका घटनाक्रमलाई मनन गर्दै जोखिम हुन सक्ने मतदान स्थलको पहिचान गरिएको र त्यस्ता स्थानलाई विशेष निगरानीमा राखिएको उनले उल्लेख गरे। चेकपोइन्ट व्यवस्थापन गरी सशस्त्र प्रहरीसँगको सहकार्यमा सुरक्षा योजना कार्यान्वयनको तयारी पूरा भइसकेको प्रमुख सेनानी कार्कीले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीको व्यवस्थापन पनि नेपाल प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना गरि तीनै तहका सुरक्षाकर्मीको जिम्मेवारीमा गरिने जनाइएको छ। नेपाल प्रहरी ,सशस्त्र प्रहरी र म्यादी प्रहरीले आफ्नो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जस्तै नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने, आवश्यक पर्दा छिटो–छरितो रूपमा परिचालन हुन सक्ने मोबाइल क्वीक रियाक्सन टोली तयार राखिएको तथा मोटरसाइकल गस्ती समेत बढाइसकिएको जनाएको छ।
यसैबीच, नजिकिँदै गरेको होली पर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन सुरक्षा निकायले सबैसँग आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको र कानुन विपरीत कार्यमा संलग्न जो–कोहीमाथि कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सुरक्षा निकायले निर्वाचन र पर्व दुवैलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राजनीतिक दल, सरोकारवाला निकाय तथा आम नागरिकको सहयोग अपरिहार्य रहेको जनाएको छ।

