Madhes Khabar
कृषि समाचार

साउनको दोश्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा धान किसान चिन्तित


माधुरी महतो
मधेसखबर
वीरगञ्ज , साउन ११
साउनको दोश्रो हफ्ता लागिसक्दा पनि लामो समय देखि पानी नपरेर खडेरी पर्दा अहिले सम्म आधा पनि धान रोपाइ हुन सकेको छैन । लामो समय देखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेको तथा खाध्य समेत नपाउदा किसानहरु दोहोरो मारमा परेको गुनासो गर्दैछन् । वैकल्पिक रुपमा सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डढ्न थालेको किसानहरु बताउँछन् ।

यसपाली समयमा पानी नपर्दा किसानले धान रोप्न नपाएका बेला जसोतसो हाल धान रोपेपनि पर्याप्त पानी र खाधको अभावमा खडेरी पर्दा ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेपछि फेरी गोडमेल गरी सिँचाईका लागि ऋण गरेर भएपनि पानीको व्यवस्था गरी रोपाई गरेको भएपनि फेरी पनि हाल पानी पर्याप्त रुपमा नपरी घाम लाग्न थालेपछि चिन्ता बढेको किसानहरुले बताएका छन् ।

पर्सा गर्दाैलकी सरनेशा खातुन भन्छिन् , ’ तीन महिना भईसक्यो धान विउको तैयारी गरेको तर साउन लाग्दा समेत पानी पर्याप्त परेको छैन । धेरै ढिलो भईसक्यो । वर्षाको पानीको लागि कुर्दा कुर्दै पैशा खर्च गरेर बोरिगंले पानी हाल्नुपयार्् खेतमा । अहिले फेरी घाम लागरहेको छ यसले थप चिन्ता बढाएको छ ।’


अन्नभण्डारको रूपमा चिनिने मधेस प्रदेशको तराई क्षेत्रमा अहिले झरी पर्नुपर्ने समय हो। तर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ।

स्थानीय किसान सरोज बानुले दुखेसो पोख्दै भनिन् , ’वर्षतको पानीको कारण ढिलो भयो । मेरो खेतमा पनि सुख्खाले धेरै धानको विउ सुख्यो । पछि पैसा खर्च गरेर केहीमा पानी हाले केही त्यस्तै विउ पहेलो भएर कामै नलाग्ने भयो धान विउ । अब त पैसा पनि छैन पानी पटाउनका लागि त्यसैले अब वर्षाकै पानीको लागि कुर्ने हो पानी नपरे यसपालि पर्याप्त सोचेको जस्तो धान हुँदैन । अब जे हुन्छ सहनै पर्छ हामी किसानले । सरकारले केही व्यवस्था गरे हुन्थ्यो नि यस्तोमा मतलब छैन । ’


रोपाइँ सक्ने बेलामा समेत यस वर्ष पर्याप्त वर्षा हुन सकेको छैन। राम्रोसँग वर्षात नभएपछि अधिकाशं किसानले धान रोप्न पाएका छैनन् भने केही किसानले सिचाईको व्यवस्था गरी विउ रोपेपनि अबको घाम तथा सुख्खाले सबै बर्बाद नै हुने होकी भन्ने चिन्ताले सताएको बताउँछन् ।

असारको अन्तिममा सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी नपरेको किसानको गुनासो छ। खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको किसानको भनाई छ।

बाराकी तपसिया देवी भन्छिन् , ’ पानी असारमै पर्नु पथ्र्यो तर अहिलेसम्म परेन अनि गरीब किसान हामी खेती कसरी गर्ने । अब रोपेको धान विउ पनि पहेलो भयो भने यसपालि १० मनको ठाउमा १ मन नै धान हुन्छ होला । ’
’ जो संग पैसा छ उसले त खेती गर्यो तर हामी कुरेरै बसेको र केही पानी पर्दा विउ हाल्यौँ तर अहिले फेरी खेत सुकेको छ । धानको विउ मेरो खेतका मात्रै होईन अरु धेरै किसानको धान खेत सुकेको छ । ’ स्थानीय लक्ष्मिनिया देवीको भनाई ।


संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउँछन् तर किसान भने सिँचाई र मलको अभावमै आकाशे पानीको भरमा धान खेती गर्न बाध्य छन् ।

खरमेशा खातुन भन्छिन् , ’ धानको विउ सबै पहेलो भईसक्यो । असर धेरै गरीसक्यो । चार कठठाको धान खेत सुकिसक्यो घामका कारण । अब नजिकमा पानीको बोरीगंको सुविधा भए पो हुन्थ्यो गरीबको लागि त त्यो पनि सुविधा छैन । पैसा पुगेन त्यसैले पानी पनि पर्याप्त हालन् सकिएन । ’

सरकारी अधिकारीले भने यस्तो भन्छन्
देशभर आकाशेपानीकै भरमा अझ पनि खेतीपाती हुने हुँदा यसपालि समयमा पानी नपरेको तथा परेपनि पर्याप्त नपरेको कारण अघिल्लो वर्षको तुलनामा हालसम्म कम धान रोपाई भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवतmा प्रकाश कुमार संजेलले बताए ।

यसपालि साउनमा पनि पर्याप्त पानी नपरे धानको उत्पादनमा कमी आउने तर पानी अझ पर्ने समय बाँकी रहेकोले अझ राम्रो उत्पदानको आशा गर्नुपर्ने बताए ।

धान बालि विज्ञ के भन्छन्
यसपालि केही जिल्लाहरुमा भएका नहरमा समयमा पानी पनि नआएको तथा पानी पनि नपरेकोले समग्र उत्पादनमै असर पारेको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम बर्दिवासका धान संयोजक डाक्टर रामवरण यादव बताउँछन् ।

प्राय जसो किसान आकाशेपानीको भरमा खेतीपाति गर्दै आएको तथा यसको बैकल्पिक उपाय हालसम्म सरकारले गराउन नसक्दा यसपालि किसानहरुले नोक्सानी बेहोर्ने अवस्था आएकोले आकाशे पानीको भरमा मात्रै नभई बैकल्पि विधि अपनाउने किसिमका उपायबारे पनि किसानहरुलाई जागरुक बनाउन आवश्यक रहेको उनको भनाई छ ।


कम पानीको व्यवस्थापनमा पनि खेती गर्न सकिने धानको विउको जातबारे अनुसन्धान गरी ल्याएको भएपनि सरकार वा किसान कसैले पनि यस्ता  धानको विउको जात वा सिचाई तथा रोपाई विधि र पानी संचिति विधी बारे चासो नदेखाएको उनको गुनासो छ ।

मधेस प्रदेशको आठ जिल्लामा नै पर्याप्त वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेपछि किसानहरु चिन्तित बनेका छन्। समयमा वर्षा नहुँदा तथा सिँचाइको अभावमा अधिकांश जिल्लामा धान रोपाइँमा असर परेको छ भने रोपिएका धान पानीको अभाव र खाध्यको अभावमा सुक्न थालेको छ।

 

Related posts

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

MadhesKhabar

धेरै धान फल्ने मधेस प्रदेशमा आधा पनि भएन रोपाइँ

MadhesKhabar

एक वर्षमा दोब्बर बढ्यो हरियाे तरकारीकाे भाउ

MadhesKhabar

Leave a Comment