Madhes Khabar
Uncategorized हेडलाइन

आयो अदालतको आदेश : पर्सा–३ मा एमाले उम्मदवार पाण्डेयको उम्मेदवारी कायम

वीरगन्ज,१४फागुनःनेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयको उम्मेदवारी कायम रहने भएको छ। सर्वोच्च अदालतले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि पाण्डेको उम्मेदवारी कायम रहने भएको हो ।

बिहीबार सर्वोच्च अदालतको इजलास नम्बर–७ का न्यायाधीश मेघराज पाखरेलले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेका हुन् ।

पाण्डेयविरुद्ध पर्सा–३ कै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन आयोग कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाउँदै पाण्डेयको उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए । उक्त रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो ।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो । उजुरी परेपछि निर्वाचन आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो ।

यता एमाले पक्षले भने पाण्डेयको बढ्दो जनसमर्थन देखेपछि विपक्षी शक्तिहरूले अनावश्यक दुःख दिनको लागि आयोग र अदालतको ढोका ढकढक्याएको आरोप लगाएको छ । उम्मेदवारी दर्तापछि ‘कालोसूची’सम्बन्धी हल्ला सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको दाबी गरिएको छ ।

एमाले नेतृत्वले यसलाई राजनीतिक रूपमा चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिएको छ । उम्मेदवार पाण्डेयले बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासको उपहास भएको बताए । “निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन, चुनाव लड्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो,” उनले प्रतिक्रिया दिए।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले पनि विपक्षी दलहरू जनमतबाट पराजयको सम्भावना देखेपछि अदालतको आड लिएको आरोप लगाए। “जनताको मतबाट हार्ने निश्चित देखेपछि केही शक्तिहरू रिटमार्फत उम्मेदवार हटाउन खोजिरहेका छन्,” उनले भने।

Related posts

जिउतिया पर्वकाे अवसरमा वीरगन्जका विद्यालयमा भाेलि विदा

MadhesKhabar

रेडक्रसको निरन्तर सहयोग ।

MadhesKhabar

वीरगन्जका युवक सोनारको हत्या प्रकरण : अनुसन्धानका लागि श्रीमति प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment