वीरगन्ज,२कार्तिकः बाराको गण्डक नहरमा बिहीबार हत्या गरिएको अवस्थामा फेला परेका युवक वीरेन्द्र साह सोनारको घटना प्रकरणमा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका २६ वर्षिय युवक सोनारको हत्या गरिएको अवस्थामा शव बिहीबार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सोधपुछका लागि मृतक वीरेन्द्रकै श्रीमति मनिषा देवीलाई शुक्रबार नियन्त्रणमा लिएको हो । सोधपुछका लागि मनिषा देवीलाई जिल्ल प्रहरी कार्यालय बारामा ल्याइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मधेसखबरलाई जानकारी दिए ।
सोनारसंगै बाराको मुसहर्वाको मेला हेर्न गएका उनका साथी भारतीय युवक विजय कलवार भने अझै फरार नै रहेको र उनको खोजी भइरहेको सापकोटाले बताए ।शुक्रबार साँझ मधेसखबरसंग टेलिफोन सम्पर्कमा कुरा गर्दै सापकोटाले भने,‘सोधपुछका लागि मृतककी श्रीमतिलाई प्रहरी कार्यालयमा ल्याएका छौं । फरार विजयको खोजी भइरहेको छ । प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’सोनारको हत्याको कारण अहिलेसम्म खुल्न नसकेकोपनि उनले बताए ।
बिहीबार नै वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टम गरेर शव परिवारजनको जिम्मा लगाइसकिएको जानकारीपनि सापकोटाले दिए ।
गत असोज २७ गते घरबाट बाराको मसुहर्वाको मेला हेर्न भनेर भारतीय युवक कलवारसंगै मोटरसाइकालमा निस्किएका सोनारको शव पाँचौ दिनमा बिहीबार बिहान गण्डक नहरको त्रिवेणी पुलमुनि भेटिएको थियो ।टाउको पछाडी घाउ लागेको अवस्थामा सोनारको शव भेटिएको प्रहरीले जनाएको छ ।