वीरगन्ज,८ फागुनःपर्सा क्षेत्र नम्बर २ मा पर्ने पर्सागढी नगरपालिकाको वडा नम्बर ३ झबराहामा शुक्रबार रास्वपाका उम्मेदवार सुशील कुमार कानु पुग्दा स्थानीय महिलाहरु खुशी हुदैं नाँचेर घण्टी बजाउँदै स्वागत र समर्थन जनाएका छन्।
घरदैलोका क्रममा पुगेका कानुलाई आँगनमा सुर्तीको पात उनिरहेका स्थानीय महिलाहरुले नाँच्दै र घण्टी बजाउँदै स्वागत र समर्थन गरेका हुन् ।
घरदैलोकै क्रममा मतदातासंगको भेटघाटमा रास्वपा उम्मेदवार कानुले त्यहाँको शिक्षा,स्वास्थ्य र कृषिसंग सम्बन्धित विद्यमान समस्याहरुका बारेमा जानकारीपनि लिए। त्यसक्रममा उनले झबराहामा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले लामो समयदेखि भोग्दै आएको मल र सिँचाइ पानीको समस्यालाई गम्भीर रूपमा लिएको बताउँदै आँफु निर्वाचित भएपछि ती समस्याको समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाए।
“कृषि नै यहाँको मुख्य आधार हो,” कानुले भने, “किसानले समयमै मल र सिँचाइ पानी नपाएसम्म समृद्धिको कल्पना गर्न सकिँदैन। म निर्वाचित भएपछि यी विषयलाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेछु।”
स्थानीय स्तरमै पशुपालन सम्बन्धि प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने योजना पनि रहेको उनले सुनाए। स्थानीय तहमै रोजगारीका अवसर विस्तार भएमा वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

