
वीरगंज ५, फागुन :पर्साको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित अलाँै सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलोका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको शुभकामना दिँदै मतदातालाई सचेत रहन आग्रह गरे। उनले स्पष्ट शब्दमा भने,“जेष्ठ नागरिक भत्ता, वृद्ध भत्ता, एकल महिला भत्ता पार्टीले होइन, सरकारले दिन्छ। त्यसैले झुटा आश्वासनमा नपरी सही उम्मेदवार छान्नुपर्छ।”
जनक साहको भनाइले सहभागी स्थानीयमा सकारात्मक सन्देश फैलिएको देखिन्थ्यो। उनले भावनामा होइन, तथ्यमा आधारित भएर मतदान गर्नुपर्ने धारणा राख्दै नयाँ नेतृत्व आवश्यक भएको बताए।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको प्राथमिक एजेन्डा प्रस्तुत गरे। उनले स्वास्थ्य सेवामा सुधार, शिक्षामा समान पहुँच, युवाका लागि रोजगारी तथा कृषिमा आधारित स्वरोजगार सिर्जना मुख्य प्रतिबद्धता रहेको बताए। उनले भने,“राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ। जनताको जीवनस्तर सुधार नै हाम्रो पहिलो लक्ष्य हुनेछ।”


