वीरगञ्ज, ४ फागुन: पिपुल फ्रष्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रचार–प्रसारका क्रममा भएको सांघातिक हमलाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार जारी गरेको विज्ञप्तिमार्फत उक्त घटनालाई दुर्भाग्यपूर्ण, आपत्तिजनक तथा निन्दनीय कार्य भन्दै घोर भर्त्सना गरेका छन्।
संयोजक सिंहका अनुसार निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने यस्ता हिंसात्मक गतिविधिले निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धामाथि गम्भीर प्रश्न उठाउँछ।
उनले दोषीहरूलाई तत्काल पहिचान गरी आवश्यक खोजी तथा छानबिन गर्दै कानुनी कारबाहीको दायरामा ल्याउन सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
पार्टीले हमलाबाट घाइते भएका उम्मेदवारको उचित उपचार र पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
“निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने यस्ता हिंसात्मक घटनाप्रति हाम्रो पार्टी गम्भीर छ। सरकार र सुरक्षा निकायले संवेदनशील भएर आवश्यक कदम चाल्नुपर्छ,” विज्ञप्तिमा संयोजक सिंहले उल्लेख गरेका छन्।
पिपुल फ्रष्ट पार्टीले निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायहरूलाई समेत घटनामा विशेष ध्यान दिन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याउने यस्ता घटनालाई रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।

