Madhes Khabar
स्थानिय हेडलाइन

गुणस्तहिन काम गरेको भेटिएपछि सिर्सिया पुलको निर्माण कार्य रोके मेयर सिंहले

मधेसखबर
वीरगन्ज,२३ माघ : गुणस्तरहीन सामाग्री प्रयोग गरेर सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटिएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सिया खल्वाटोलामा निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेर ढलान सुरु गर्न लागिएको बेला सोमबार अनुगमनमा मेयर सिंह पुगेका थिए । त्यसक्रममा मेयर सिंहले ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्नुपर्नेमा पांगो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न निर्देशन दिएको उनका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार ,सघन सहरी विकास आयोजनाले २०७४ सालमै पुल निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य अलपत्र पारेर छाडेको थियो । तर महानगरको मेयरमा निर्वाचित भएर आएसँगै मेयर सिंहको प्रयासमा ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थियो ।

तर अहिले पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि ममेयर सिंहले काम रोक्नुका साथै स्टिमेट अनुसारको सामग्री प्रयोग गरेर मात्रै काम अघि बढाउन निर्देशन दिएको घिमिरेले बताए ।

यता सघन सहरी विकास आयोजना कार्यालय वीरगन्जका प्रमुख झपट बहादुर थापाले पप्पुले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आए पछि काम रोकेको बताएका छन् ।

‘ममेयर सिंहले जानकारी गराएपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे,’ उनले भने ‘त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि आफूहरुले ठेकेदार कम्पनीलाई काम रोक्न लगाएका छौँ ।’ गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः गुणस्तरीय सामग्री राखेर निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उनले बताए ।
सघन सहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा उक्त पुल पनि एकै पटक सोही ठेक्कामा पप्पुले सकार गरेको उनले बताए ।

Related posts

पर्सामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

MadhesKhabar

ओडिसाको कलेजबाट लखेटिएका १५६ नेपाली विद्यार्थी वीरगन्ज नाका हुदैं घर फर्किए

MadhesKhabar

मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

MadhesKhabar

Leave a Comment