वीरगन्ज ३,फागुन: पर्साको ठाेरी गाउँपालिका वडा नम्बर–५ सुवर्णपुरमा नेकपा एमाले परित्याग गर्दै ७ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संगठन विस्तार र जनसमर्थन बढ्दै गएको संकेतका रूपमा यसलाई हेरिएको छ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले पार्टी प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै कांग्रेसको नीति, सिद्धान्त र विकासमुखी योजनामा विश्वास गरेर आएको बताए।
उम्मेदवार रिजालले कार्यक्रममा बोल्दै भने,“अब आफ्नो गाउँ–ठाउँको विकासका लागि सबैले एकताबद्ध भएर कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्नुपर्छ। जनताको समस्या समाधान र समृद्धि ल्याउने शक्ति कांग्रेस नै हो।”
स्थानीयस्तरमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र परिवर्तनको पक्षमा जनलहर विस्तार भइरहेको नेताहरूले बताएका छन् कार्यक्रममा स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथासमर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

