
वीरगन्ज,१२चैतःपूर्वशिक्षा मन्त्री एंव सांसद महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट स्थापनाकालदेखि झण्डै १७ लाख रुपैयाँ बराबरको कृषि औजार बिक्री वितरण गरेको छ ।
केन्द्रको वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवका अनुसार हालसम्म मकै गोड्ने मेसिन ‘रिजर’ ३ सय थान बढी बिक्री भएको छ । केन्द्रले १ हजार ५ सय रुपैयाँमा यो उपकरण बिक्री गरिरहेको छ ।
त्यसैगरी, झारपात सफा गर्ने उपकरण ‘रेक’ पनि ३ सय थान बढी बिक्री भइसकेको छ । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । मकै रोप्ने मेसिन ‘कर्न प्लान्टर’ २ वटा बिक्री भएको छ । यसको मूल्य १५ हजार रहेको छ।
केन्द्रले ७ वटा धान रोप्ने मेसिन ‘राइस प्लान्टर’ पनि बिक्री गरेको छ । यसको मूल्य २६ हजार रुपैयाँ रहेको छ। यसका साथै दुई दर्जन भन्दा बढी प्रकारका विडर, खन्ने, जोत्ने आदि हाते उपकरण पनि ६० देखि ७० हजार रुपैयाँ बराबरको बिक्री भइसकेको देवले जानकारी दिए ।
केन्द्रले अर्डर अनुसार माछा उत्पादन गर्ने फिस इन्क्युवेटर मेसिन र अक्सिजन एरिएसन मिक्सिङ टावर पनि उत्पादन गरी बिक्री गरिसकेको छ । केन्द्रले हालै व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ ।शंकर आचार्य /कान्तिपुर

