Madhes Khabar
राजनीति हेडलाइन

संसद पुर्नस्थापनको माग गर्दै सर्वोच्चमा गएका कांग्रेसका ६५ सांसदमा पर्साका चौरसिया र रिजाल पनि

वीरगन्ज,८ पुसः विघटित प्रतिनिधि सभा (संसद) पुर्नस्थापनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने नेपाली कांग्रेसका ६५ जना निर्वतमान सांसदहरुमा पर्सा जिल्लाका पनि दुई जना परेका छन् ।

मंगलबार संसद पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर गरेका कांग्रेसका ६५ जना निवर्तमान सांसदहरु मध्ये पर्सा क्षेत्र नम्बर २ का निवर्तमान सांसद अजयकुमार चौरसिया र पर्सा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद रमेश रिजाल हुन् । दुवै जना पूर्वमन्त्रीसमेत हुन् ।

यसअघि गत मंसिर २३ गते कांग्रेसका ८ जना निवर्तमान सांसदहरुले संसद पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकोमा मंगलबार चौरसिया र रिजालसहित थप ५७ जनाको हस्ताक्षर जुटाएर दर्ता गराइएको हो ।

एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।  एमालेले मंसिर १० गते र कांग्रेसका सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए ।

अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद पुग्छन् ।२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।

एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो । कांग्रेसको भने संस्थागत होइन ।

बहुमत सांसदले माग गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना गर्न सहज हुने कांग्रेस–एमालेको बुझाइ छ । उनीहरूले सर्वोच्चलाई फैसला गर्न सहज होस् भनेर बहुमत सांसदको हस्ताक्षर नै बुझाउन लागेको बताएका छन् ।

रिटमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएकाले खारेज गरेर संसद्‌भित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन परमादेशको माग गरिएको छ ।

 

Related posts

वीरगन्जका डा. अबुल हैस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित

MadhesKhabar

आदर्शनगरमा सन्तोषको गोदाममा सशस्त्र प्रहरीको छापा,५० लाख बढीको कपडा र हार्डवेयर बरामद

MadhesKhabar

अतिक्रमण हटाउन मेयर आफैं पुगे, सिर्सिया पुल नजिक अढाइ कट्ठा जग्गाको अतिक्रमण हटाइयो

MadhesKhabar

Leave a Comment